संविधान कार्यान्वयनमा व्यवधान आए विशेष योजना बनाएर अघि बढ्न सुरक्षा निकायलाई गृहमन्त्रीको निर्देशन
काठमाडौं,३ वैशाख ।
गृहमन्त्री शक्ति बस्नेतले संविधान कार्यान्वयनका सिलसिलामा कुनै व्यवधान आए तत्काल विशेष योजना बनाएर अघि बढ्न सुरक्षा निकायलाई निर्देशन दिएका छन् ।
उपत्यका विशेष सुरक्षासम्बन्धी गोष्ठीको आज राजधानीमा उद्घाटन गर्दै गृहमन्त्री बस्नेतले संविधान कार्यान्वयन गर्न नदिने गरी मुलुकलाई दुई कित्तामा बाँड्ने प्रयास हुन थालेको भन्दै त्यसतर्फ सचेत रहनुपर्ने बताए । उनले मुलुकको आर्थिक विकास, लोकतन्त्र र सामाजिक एकताको पक्षमा काम गर्न सुरक्षा निकायलाई निर्देशन दिए ।
गृहमन्त्री बस्नेतले सबै निकायको कार्यभार संविधान कार्यान्वयन नै भएको भन्दै सबै निकायले दृढ इच्छाशक्ति देखाउनुपर्ने बेला आएको बताए । उनले आगामी नीति तथा कार्यक्रम पनि समयसापेक्ष बनाइने स्पष्ट पारे । मुलुक संक्रमणमा रहेका बेला उपभोग्य बस्तुको अभाव भए पनि अब त्यस्तो हुन नदिने दृढता उनले व्यक्त गरे ।
बजारमा उपभोग्य बस्तुको अभाव भएका बेला जनताले देखाएको संयमता र धैर्यताको प्रशंसा गर्दै गृहमन्त्री बस्नेतले आगामी दिनमा जनताप्रतिको दायित्व पूरा गर्न कुनै पनि कसर बाँकी नराख्ने प्रतिबद्धता व्यक्त गरे । ग्यासलगायत इन्धनको अब कुनै अभाव नरहेकाले त्यसलाई व्यवस्थित रुपमा वितरणमात्र गर्न सक्नुपर्ने उनको भनाइ थियो ।