एमाले अनेरास्ववियुको आयल निगमविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजूरी दर्ता
विराट पेट्रोलियमलाई बजार मूल्यभन्दा ३० रुपैयाँ बढी मूल्यमा पेट्रोल बिक्री गर्ने अनुमति दिएको भन्दै एमाले भ्रातृ संगठन अनेरास्ववियुले नेपाल आयल निगमविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजूरी दर्ता गरेको छ ।
गत बिहीबार निगमले विराट पेट्रोलियमलाई १ एसय २९ रुपैयाँ प्रतिलिटर मूल्यमा पेट्रोल बिक्री गर्ने अनुमति दिएको थियो । निगमले हाल ९९ रुपैयाँ प्रतिलिटर मूल्यमा तेल बिक्री गरिरहेको छ ।
उजूरीमा अख्तियार मिचेर ३० रुपैयाँ बढीमा निजी कम्पनीलाई तेल बिक्री गर्ने अधिकार दिने निगमका सम्बन्धित अधिकारीलाई पक्राउ गरी कारवाही गर्नुपर्ने उल्लेख गरिएको अनेरास्ववियु महासचिव महेश बर्तौलाले जानकारी दिए ।
अनेरास्ववियुको एक टोली आज अख्तियार पुगेर उजूरी दर्ता गराएको हो ।
३० रुपैयाँ बढी मूल्यमा तेल बिक्री गरेकोमा चर्को विरोध भएपछि विराट पेट्रोलियमले आइतबारदेखि ९९ रुपैयाँमै तेल विक्रि शुरु गरेको छ । उसले राजधानीको तीन पेट्रोल पम्पमार्फत तेल बिक्री गरिरहेको छ ।