सत्ता स्वार्थका लागि लम्पसार पर्ने प्रवृत्ति दोहोरियाे : भिम रावल

मूलखबर संवाददाता
काठमाडौं, १० मंसिर

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता भीम रावलले सत्ता स्वार्थका लागि विगतमा जस्तै  लम्पसार पर्ने प्रवृत्ति दोहोरिएको टिप्पणी गरेका छन् ।

बिहीबार रिपोर्टर्स क्लब नेपालले काठमाडौँमा आयोजना गरेको साक्षात्कारमा नेता रावलले प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा देशको हितविपरीत सम्झौता भएको भन्दै सत्ता स्वार्थका लागि विदेशीसामु लम्पसार पर्ने प्रवृत्ति विगतको जस्तै दोहोरिएको टिप्पणी गरेका हुन्।

उनले नेपालका प्राथमिकताप्राप्त आयोजनामा भारतलाई प्राथमिकता दिइने गरी सन् १९५० को सन्दर्भको प्रावधान ब्युँताइएको आरोप लगाउँदै सरकार तथा प्रधानमन्त्रीसँग जवाफ माग गरे। भारतको सुरक्षासम्बन्धी निकायले तालिम–प्रशिक्षणका नाममा नेपाल प्रहरीभित्र भूमिका पाउने गरी प्रधानमन्त्रीले सम्झौता गरेको उनको भनाइ छ।

नेता रावलले नेपालको देशभक्ति कुनै देशको विरोधमा नभई आफ्नै हितमा आधारित हुनुपर्ने उल्लेख गरे। भारत भ्रमणका क्रममा राष्ट्रिय हित, सीमा विवाद र असमान सन्धिजस्ता संवेदनशील विषय नउठाइएको भन्दै उनले सरकारको आलोचना गरे।