हाेल्डिङ सेन्टर खाली गर्न ३ दिनकाे म्याद, बिचल्लीमा पर्दै विस्थापित
नदी किनारका सुकुम्बासी बस्ती हटाउँदा विस्थापित भई होल्डिङ सेन्टरमा रहेका परिवारलाई तीन दिनभित्र स्थान खाली गर्न अल्टिमेटम दिइएको छ।
कृषि विकास बैंकको तालिम केन्द्र, बोडेमा आश्रय लिइरहेका विस्थापितहरूलाई तीन दिनभित्र होल्डिङ सेन्टर खाली गर्न बुधबार जिल्ला प्रशासन कार्यालय भक्तपुरले अल्टिमेटम दिएको हो।प्रमुख जिल्ला अधिकारी विनोदकुमार खड्काले एक सूचना जारी गर्दै शुक्रबार दिउँसो २ बजेभित्र होल्डिङ सेन्टर खाली गर्न आदेश दिएका छन्। भूमि समस्या समाधान समिति काठमाडौंको पत्रानुसार सूचना जारी गरिएको उनले बताए।
बोडेस्थित होल्डिङ सेन्टरमा हाल १९ परिवार रहेका छन्। प्रजिअ खड्काले जनाएअनुसार तीमध्ये ७ परिवारको घरमूली वा तीनका परिवारका सदस्यहरूको नाममा जग्गा भेटिएको छ। भूमि व्यवस्थापन तथा अभिलेख विभाग तथा स्थानीय पालिकाबाट प्राप्त विवरणअनुसार ७ परिवारको जग्गा रहेको देखिएकोले भूमिसम्बन्धी ऐन, २०२१ को दफा ५२क र ५२ख अनुसार भूमिहीन नठहरिने सूचनामा उल्लेख छ।





