घाेप्टेभीरकाे जाेखिमपुर्ण भाग झार्न अझै ३ दिन लाग्ने

मूलखबर संवाददाता
काठमाडौं, ९ मंसिर

पृथ्वी राजमार्गको मुग्लिन–नौबिसे सडक खण्डको घोप्टेभिरमा सवारी रोकेर जोखिमपूर्ण भाग झार्न थप तीन दिन लाग्ने भएको छ ।

नागढुङ्गा–मुग्लिन सडक आयोजना (पश्चिम खण्ड)का सूचना अधिकारी सचेन्द्र मिश्रका अनुसार अप्ठेरो भूगोल भएकाकारण काम गर्न कठिन भएकाले समय बढी लागेको हो ।

गत शनिबार दिउँसोदेखि दैनिक पाँच घण्टा सवारी रोकेर जोखिमपूर्ण भाग झार्ने काम भइरहेको छ । उहाँले भन्नुभयो, “थप समस्या आएन भने अबको तीन दिनमा काम सक्ने लक्ष्य छ ।”

माथिबाट स्काभेटरले जोखिमपूर्ण भाग झार्ने र तलबाट सडक सफा गर्ने काम भइरहेको छ । हरेक दिन बिहान ११ः०० बजेदेखि दिउँसो ४ः०० बजेसम्म सवारी रोकेर काम गरिएको छ ।

निर्माण कम्पनीका इन्जिनियर ईश्वर नेपालका अनुसार सडकबाट झण्डै १०० मिटर माथि डाँडामा मेसिन लगेर अहिले काट्ने काम भइरहेको छ । उहाँले भन्नुभयो, “निकै जोखिमपूर्ण काम भएकाले प्रगति ढिलो भएको छ ।”

मङ्गलबार मात्रै पनि माथिल्लो ढिस्को खसेर एक्साभेटर पुरेको थियो । पहिरो पन्छाएर पुनः स्काभेटरले काम गरिरहेको उहाँले जानकारी दिनुभयो । मिलेसम्म थप एउटा मेसिन माथि डाँडामा पठाउने तयारी गरिएको उहाँले बताउनुभयो ।

यस्तै सडक बन्द भएको समयमा चुम्लिङ्टार र कुरिन्टारको बीचको डाहाकी खोलामा समेत सडक चौडा गर्न थालिएको छ । सो ठाउँमा १०० मिटर लम्बाइ क्षेत्रमा सडकलाई दुई मिटर चौडा गर्नुपर्ने भएकाले दुबै ठाउँमा स्काभेटर र एउटा लोडर प्रयोग गरी भित्तो काट्ने काम गरिएको छ ।