९० दिन बितिसक्दा पनि पुनर्स्थापना र पुनर्बासको प्रक्रिया शुन्य, बाढीपीडितहरू आन्दोलित
भोटेकोशी–त्रिशूली बाढीले नुवाकोटमा बितण्डा मच्चाएको ९० दिन बितिसक्दा पनि सरकारका तर्फबाट पुनस्र्थापना र पुनर्बासको प्रक्रिया सुरु हुन नसकेपछि पीडितहरू आन्दोलित बनेका छन्। जाडोयाम सुरु भइसक्दासमेत बासस्थानको टुंगो नलागेपछि दुई महिनादेखि संघर्षरत पीडितहरूले बागमती प्रदेश सरकारसमक्ष ६ बुँदे मागसहित ध्यानाकर्षणपत्र बुझाएका छन्।
‘भोटेकोशी–त्रिशूली बाढीपीडित सरोकार समिति, नुवाकोट’का संयोजक सूर्यबहादुर कँडेलको नेतृत्वमा गएको टोलीले प्रदेशका मुख्यमन्त्री किरणबहादुर थापामगर, आर्थिक मामिला तथा योजनामन्त्री सरल सहयात्री पौडेल र भौतिक पूर्वाधार विकासमन्त्री भरत केसीलगायतलाई भेटेर ज्ञापनपत्र बुझाएको हो। पीडितहरूले तत्कालको राहतभन्दा पनि दीर्घकालीन पुनस्र्थापना, सुरक्षित आवास, क्षतिको वर्गीकरण तथा क्षतिपूर्ति, ऐतिहासिक धरोहरको पुनर्निर्माण र पुनर्निर्माण प्राधिकरण गठनको माग राखेका छन्।
बाढी गएको तीन महिना पुग्दासमेत राज्यले पुनस्र्थापनाको पहल नगरेकाले बाध्य भएर संघर्षमा उत्रिनु परेको सरोकार समितिका उपसंयोजक सुरेन्द्रराज केसीले बताए। ‘बाढी गएको तीन महिना हुँदासमेत पुनस्र्थापनाको पहल नभएका कारण संघर्षका कार्यक्रम गर्नु परेको हो। अब तीनै तहको सरकारलाई दबाबमूलक कार्यक्रम सञ्चालन गरेर पीडितहरूको पुनस्र्थापना गरिनेछ,’ केसीले भने।
ज्ञापनपत्र हस्तान्तरण कार्यक्रममा विदुर नगरपालिकाका मेयर राजन श्रेष्ठ र उपमेयर प्रभा बोगटीले पनि स्थानीय तहको तर्फबाट छुट्टै ध्यानाकर्षणपत्र बुझाएका थिए। कार्यक्रममा नुवाकोट, रसुवा र धादिङका प्रदेशसभा सदस्य तथा प्रभावित स्थानीय तहका जनप्रतिनिधिहरूको सहभागिता थियो। सरोकार समितिका अर्का उपसंयोजक अष्टमान डंगोलले बाढीका कारण घरजग्गा तथा सम्पत्ति गुमाएका परिवारको सहज जीवनयापनका लागि सरकारले तत्काल ठोस कार्यक्रम ल्याउनुपर्ने बताएकाे खबर अन्नपुर्णमा छ।
‘प्रभावित परिवारको व्यवस्थापन र उनीहरूको सहज जीवनयापनका लागि सरकारले तत्काल कार्य अगाडि बढाउनुपर्छ,’ डंगोलले भने। गत भदौ १० गते रसुवाको ल्हेन्देखोला हुँदै भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीले नुवाकोटका चारवटा स्थानीय तह विदुर र बेलकोटगढी नगरपालिका तथा किस्पाङ र तारकेश्वर गाउँपालिकामा ठूलो जनधनको क्षति पुर्याएको थियो। बाढीबाट बेत्रावती, त्रिशूली, ढुंगे, तुप्चे, सोले, शान्तिबजार, देवीघाट र महादेवफाँटलगायतका क्षेत्र बढी प्रभावित भएका थिए।
जिल्ला प्रशासन कार्यालय नुवाकोटका अनुसार बाढीले चार स्थानीय तहका कुल २ हजार ८ सय ३१ घरमा क्षति पुर्याएको छ। जसमध्ये सबैभन्दा बढी विदुर नगरपालिकामा २ हजार ५ सय ५४, बेलकोटगढी नगरपालिकामा १ सय ९५, तारकेश्वर गाउँपालिकामा ४८ र किस्पाङ गाउँपालिकामा ३४ घर ध्वस्त भएका छन्। प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीका अनुसार बाढीका कारण जिल्लामा २ हजार ७ सय २३ जना अझै बेपत्ता भएका छन्।





