नेकपाकाे उपत्यका प्रदेशकाे प्रशिक्षण मंसिर १२ मा, प्रचण्ड र माधव नेपालले सम्बाेधन गर्ने
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को उपत्यका प्रदेश समितिले आगामी मंसिर १२ गते जनजागरण अभियानअन्तर्गत उद्घाटन तथा प्रशिक्षण कार्यक्रम आयोजना गर्ने भएको छ।
काठमाडौंस्थित राष्ट्रिय सभा गृहमा दिउँसो १२ः३० बजे सुरु हुने कार्यक्रममा पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधवकुमार नेपाल सहभागी हुने कार्यक्रम रहेको छ।
पार्टीद्वारा सञ्चालित जनजागरण अभियानलाई प्रभावकारी बनाउने उद्देश्यले आयोजना गरिएको उक्त कार्यक्रममा उपत्यका प्रदेश समितिका सदस्य, अन्तर्गतका सबै जिल्ला समितिका सदस्य तथा पदाधिकारीलाई अनिवार्य उपस्थितिका लागि अनुरोध गरिएको छ।
त्यसैगरी शाखा समितिका संयोजक, सहसंयोजक, इन्चार्ज तथा सहइन्चार्ज र उपत्यका कार्यसञ्चालन समितिमा रहेका केन्द्रीय सदस्यहरूलाई समेत कार्यक्रममा सहभागी हुन निर्देशन दिइएको छ।
जनजागरण अभियानको उद्घाटनसँगै सञ्चालन हुने प्रशिक्षण कार्यक्रमले पार्टीको संगठनात्मक गतिविधि विस्तार, कार्यकर्ताको परिचालन तथा जनतासँगको सम्बन्ध सुदृढ बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।
प्रचण्ड र माधव नेपाल एउटै मञ्चमा उपस्थित हुने यस कार्यक्रमलाई उपत्यकामा पार्टीको अभियान परिचालन र संगठनात्मक सक्रियता बढाउने महत्त्वपूर्ण अवसरका रूपमा हेरिएको छ ।





