बाढीपछीकाे पुननिर्माण र विकासमा नेपाललाइ २४ हजार कराेड सहयाेग गर्ने माेदीकाे घाेषणा
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाललाई बाढीपछीकाे पुननिर्माणमा दुई खर्ब ४० अर्ब नेपाली रुपैयाँ बराबरको विकास सहयोग उपलब्ध गराउने घोषणा गरेका छन्।
नेपाल र भारतका प्रधानमन्त्रीबीच भएको भेटवार्तापछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा मोदीले नेपाललाई समृद्ध र विकसित बनाउने यात्रामा भारत सधैँ साथमा रहने बताए।
प्रधानमन्त्री वालेन्द्र शाहलाई भारतमा स्वागत गर्न पाउँदा खुशी लागेको उल्लेख गर्दै मोदीले संयुक्त राष्ट्रसंघमा शाहले गरेको सम्बोधनबाटै उनको दृष्टिकोण र सोच स्पष्ट भएको आफूले पाएको बताए।
‘विश्वकै सबैभन्दा कम उमेरका प्रधानमन्त्रीले संयुक्त राष्ट्रसंघमा गर्नुभएको सम्बोधनबाट नै उहाँको भिजन स्पष्ट रहेको मैले पाएको थिएँ,’ मोदीले भने।
नेपाल र भारतबीचको सम्बन्ध छिमेकीको सम्बन्धमा मात्र सीमित नरहेको उल्लेख गर्दै मोदीले यसलाई अटुट विश्वासको सम्बन्धका रूपमा व्याख्या गरे। ‘हामी एकअर्काको प्रगतिमा साथी हौँ। दुःखको अवस्थामा एकअर्काको सहारा पनि हौँ,’ उनले भने।
मोदीले नेपालको पुनर्निर्माण र दीर्घकालीन विकासका लागि भारतले २४ हजार करोड नेपाली रुपैयाँ बराबरको विकास सहयोग घोषणा गरेको जानकारी दिए।
उनले नेपाल र भारतबीचको धार्मिक तथा सांस्कृतिक सम्बन्धको चर्चा गर्दै सन् २०१८ मा जनकपुरको पवित्र भूमिमा आफूले दिएको अभिव्यक्ति पनि स्मरण गरे। ‘नेपालबिना हाम्रो धाम र हाम्रो राम अधुरो हुन्छ,’ मोदीले जनकपुर भ्रमणका क्रममा आफूले भनेको कुरा स्मरण गर्दै उल्लेख गरे।
त्यसैगरी, भारतले नेपालसँगको सीमा पूर्वाधार तथा सडक सञ्जाल विस्तारलाई प्राथमिकता दिएको उनले बताए। उत्तराखण्ड र नेपालबीच धार्चुला तथा बनबासामा पूर्वाधार विकासका काम अघि बढाइरहेको उनको भनाइ थियो।
दोधारा–चाँदनी एकीकृत जाँच चौकी (आईसीपी) निर्माणको काम पनि तीव्र गतिमा अघि बढाइरहेको मोदीले बताए। उनले बिहार, उत्तर प्रदेशलगायत भारतका विभिन्न प्रदेश र नेपालबीच सडक सम्पर्क विस्तार गर्ने योजना रहेको जानकारी दिए।
यी पूर्वाधार तथा सम्पर्क सञ्जाल विस्तारका कामले नेपालको आर्थिक विकासको गति बढाउन सहयोग पुग्ने मोदीको भनाइ थियो।
त्यसैगरी, मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरणको विस्तार हुने भएको छ। झापामा पेट्रोलियम टर्मिनल र एकीकृत चेकपोस्टका रूपमा बनबासा–दोधारा चाँदनीको शिलान्यास गरिएको छ।





