गाजामा इजरायली आक्रमणको १८ मुस्लिम देशद्वारा कडा निन्दा र विराेध

मूलखबर संवाददाता
काठमाडौं, २९ कात्तिक

गाजाको खान युनिसस्थित नासेर मेडिकल कम्प्लेक्सलाई लक्षित गरी इजरायलले गरेको हवाई आक्रमणको पाकिस्तानसहित १८ मुस्लिम देशले कडा निन्दा गरेका छन् ।

शनिबार कतारको विदेश मन्त्रालयले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको संयुक्त विज्ञप्तिमा ती देशले आक्रमणको विरोध गर्दै यसलाई अन्तर्राष्ट्रिय मानवीय कानुनको उल्लङ्घन भनेका छन् । बीबीसीका अनुसार विज्ञप्तिमा १८ देशका विदेशमन्त्रीले हस्ताक्षर गरेका छन् ।

विज्ञप्तिमा इजरायली आक्रमणमा बिरामी तथा स्वास्थ्यकर्मी मारिएको घटनाप्रति गम्भीर चिन्ता व्यक्त गरिएको छ । साथै, प्यालेस्टिनी नागरिकमाथि जारी आक्रमणको निन्दा गर्दै यस्ता गतिविधिले युद्धविराम सम्झौता कार्यान्वयन तथा गाजामा सुरक्षा र स्थिरता कायम गर्ने प्रयासलाई कमजोर बनाएको उल्लेख गरिएको छ ।

विदेशमन्त्रीहरूले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अघि सारेको योजनाप्रति समेत असहमति जनाएका छन् ।

संयुक्त विज्ञप्तिमा कतार, जोर्डन, संयुक्त अरब इमिरेट्स (युएई), इन्डोनेसिया, पाकिस्तान, टर्की, अल्जेरिया, जिबूती, साउदी अरेबिया, सुडान, सोमालिया, ओमान, प्यालेस्टाइन, कुवेत, लेबनान, लिबिया, इजिप्ट र मौरिटानिया सहभागी छन् ।

तस्बिर : फाइल फाेटाे