एनपीएल ३: बिराटनगरलाई हराउँदै लुम्बिनी क्वालिफायरमा प्रवेश

मूलखबर संवाददाता
काठमाडौं, २८ कात्तिक

काठमाडौंकाे किर्तिपुरस्थित क्रिकेट रंगशालामा जारी एनपीएल तेस्राे संस्करणकाे प्रतिस्पर्धामा विराटनगर किंग्सलाई ४ विकेटले पराजित गर्दै साविक विजेता लुम्बिनी लायन्स क्वालिफायरमा प्रवेश गरेको छ। विराटनगरमाथिको जितसँगै लुम्बिनीले लिग चरणको शीर्ष दुईमा रहने पक्का गरेको हो।

लिग चरणमा ७ खेल खेलेको लुम्बिनीले ११ अंक जोड्दै अंकतालिकाको शीर्ष स्थानमा कब्जा जमाएको छ। यसअघि नै प्लेअफमा स्थान सुरक्षित गरिसकेको लुम्बिनीले विराटनगरलाई हराउँदै क्वालिफायरमा आफ्नो स्थान सुनिश्चित गरेको हो।

विराटनगर किंग्सले दिएको १६७ रनको लक्ष्य लुम्बिनीले १९.५ ओभरमा ६ विकेट गुमाएर पूरा गर्यो।

लुम्बिनीको जितसँगै एनपिएलको प्लेअफमा पुग्ने चारै टोलीको टुंगो लागेको छ। लुम्बिनी र सुदूरपश्चिम रोयल्ससँगै काठमाडौं गोर्खाज र चितवन राइनोजले अन्तिम चारमा स्थान बनाएका छन्।

अंकतालिकामा काठमाडौं गोर्खाज ५ खेलबाट ८ अंक जोड्दै तेस्रो स्थानमा छ भने चितवन राइनोज ६ खेलबाट ७ अंकसहित चौथो स्थानमा रहेको छ।

लिग चरणका सातवटै खेल खेलिसकेको विराटनगर भने ६ अंकसहित पाँचौँ स्थानमा सीमित हुँदै प्रतियोगिताबाट बाहिरिएको छ।

त्यस्तै, कर्णाली याक्स, जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्स यसअघि नै प्लेअफको दौडबाट बाहिरिसकेका छन्।

अब लिग चरणको शीर्ष दुईमा रहेका लुम्बिनी र सुदूरपश्चिमले क्वालिफायर खेल्ने अवसर पाउनेछन् भने तेस्रो र चौथो स्थानमा रहेका काठमाडौं र चितवनले एलिमिनेटर खेल्नेछन्।