आज लक्ष्मीपुजा, कुकुर तिहार पनि आजै

मूलखबर संवाददाता
काठमाडौं

आज तिहार पर्व अन्तर्गत लक्ष्मी पुजा र कुकुरतिहार एकैदिन मनाईँदैछ ।

ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजाआराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा मनाइँदैछ । आज एकै दिन नरकचतुर्दशी, कुकुरतिहार, लक्ष्मीपूजा दीपमालिका परेको छ ।

सफासुग्घर र लिपपोत नगरिएको घरमा लक्ष्मीले बास गर्दिनन् भन्ने मान्यताका आधारमा आज बिहानै घर सफासुग्घर र लिपपोत गरी दीपावली गरेर लक्ष्मीलाई आमन्त्रण गरिन्छ । आज विशेषगरी घरका झ्याल, ढोका, चोटा, कोठा, सङ्घार, कौसी, अटाली, भर्याङलगायत स्थानमा सरसफाइ गरी दीपावली गरिन्छ ।