इजरायलमा नेतन्याहुले पाएनन् सरकार बनाउने जिम्मेवारी

मूलखबर संवाददाता
काठमाडौं

इजरायलका राष्ट्रपति आइज्याक हर्जोगले नयाँ सरकार गठनका लागि विपक्षी नेता गादी आइजेनकोटलाई जिम्मेवारी दिने भएका छन् ।

बीबीसीका अनुसार गत साता भएको निर्वाचनमा प्रधानमन्त्री बेन्जामिन नेतान्याहू र आइजेनकोट नेतृत्वका कुनै पनि गठबन्धनले संसद्‌मा बहुमत ल्याउन नसकेपछि राष्ट्रपतिले आइजेनकोटलाई पहिलो अवसर दिने निर्णय गरेका हुन् ।

राष्ट्रपति कार्यालयका अनुसार हर्जोगले आफ्नो निर्णयबारे आइजेनकोट र नेतान्याहू दुवैलाई जानकारी गराइसकेका छन् । नयाँ संसद्का सदस्यहरूसँगको परामर्शमा आइजेनकोटलाई प्रधानमन्त्री बनाउन ६७ र नेतान्याहूलाई ४६ जनाले समर्थन जनाएका थिए ।

अब आइजेनकोटले सरकार गठनका लागि २८ दिनको समय पाउनेछन् । आवश्यक परे थप १४ दिन समय दिन सकिनेछ । पूर्वसैनिक प्रमुखसमेत रहेका आइजेनकोटले सामाजिक सञ्जाल एक्समा ‘राष्ट्रिय आपत्कालीन सरकार गठन गर्ने समय आएको’ बताएका छन् ।

इजरायलको १२० सदस्यीय संसद् नेसेटमा नेतान्याहूको दक्षिणपन्थी लिकुड पार्टी र उसका सहयोगी दलले ५३ सिट जितेका छन् । आइजेनकोटको मध्यमार्गी याशार पार्टीसहित उनको गठबन्धनमा रहेका चार यहुदी दलले ४८ सिट जितेका छन् ।

त्यस्तै, अरब समुदायको नेतृत्वमा रहेका युनाइटेड अरब लिस्ट र जोइन्ट लिस्टले संयुक्त रूपमा १९ सिट जितेका छन् । अरब मतदाताको उल्लेख्य सहभागिताका कारण यी दलले अहिलेसम्मकै बढी सिट प्राप्त गरेका हुन् । उनीहरूको समर्थन सरकार गठनमा निर्णायक हुन सक्ने देखिएको छ । तर यहुदी दलमध्ये एउटाबाहेक सबैले निर्वाचनअघि अरब दलसँग मिलेर सरकार गठन नगर्ने बताएका थिए ।