नेपाल बैंक र फिन्टारा सोलुसन्सबीच सम्झौता, क्रेडिट कार्डबाट १८ महिनासम्म ब्याजरहित किस्तामा सामान किन्न पाइने
काठमाडौं । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडले आफ्ना ग्राहकलाई क्रेडिट कार्डमार्फत किस्ताबन्दीमा सामान खरिद गर्न सक्ने सुविधा उपलब्ध गराउने भएको छ। बैंकले आफ्नो ९०औँ वार्षिकोत्सवको अवसरमा ‘बाइ नाउ, पे लेटर’ (Buy Now, Pay Later) सुविधा सञ्चालन गर्न फिन्टारा सोलुसन्स प्रा.लि.सँग सम्झौता गरेको हो।
सम्झौताअनुसार बैंकका ग्राहकले फिन्टारा सोलुसन्सको प्लेटफर्ममा आबद्ध भई आफ्नो नेपाल बैंकको क्रेडिट कार्ड प्रयोग गरेर विभिन्न सामान किस्ताबन्दीमा खरिद गर्न सक्नेछन्। यस सुविधाअन्तर्गत ग्राहकले अधिकतम १८ महिनासम्मको किस्ताबन्दीमा सामान खरिद गर्न पाउनेछन्। विशेष कुरा, यसरी सामान खरिद गर्दा ग्राहकलाई कुनै ब्याज तथा सेवा शुल्क लाग्ने छैन।
सम्झौतामा नेपाल बैंक लिमिटेडका तर्फबाट प्रमुख कर्जा अधिकृत पीपल कुमार पाठक र फिन्टारा सोलुसन्सका तर्फबाट कार्यकारी निर्देशक आशिष कुमार शर्माले हस्ताक्षर गरेका छन्। सम्झौता नेपाल बैंकको प्रधान कार्यालय धर्मपथ, काठमाडौंमा आयोजित कार्यक्रममा सम्पन्न भएको हो।
नेपाल बैंक लिमिटेडले यही कात्तिक ३० गते आफ्नो स्थापनाको ९०औँ वर्षमा प्रवेश गर्दैछ। बैंकले वित्तीय प्रविधिको प्रयोग, युवा जनशक्तिको परिचालन तथा ग्राहक सेवामा नवीनता ल्याउँदै आएको जनाएको छ।
बैंकका अनुसार डिजिटल बैंकिङ सेवालाई थप सहज, सरल र ग्राहकमैत्री बनाउने उद्देश्यले नयाँ सुविधा ल्याइएको हो। यसबाट ग्राहकले तत्काल आवश्यक सामान खरिद गरी भुक्तानीलाई सुविधाअनुसार किस्तामा व्यवस्थापन गर्न सक्ने अपेक्षा गरिएको छ।
नेपालको बैंकिङ इतिहासमा पहिलो बैंकका रूपमा स्थापित नेपाल बैंकले आधुनिक प्रविधि र नवीन वित्तीय सेवामार्फत आफ्नो सेवा विस्तार गर्ने प्रयासलाई निरन्तरता दिँदै आएको छ।





