एनपिएलमा नेपाली खेलाडीको प्रभावशाली प्रदर्शन
काठमाडौँमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) टी–२० क्रिकेट प्रतियोगिताको सुरुआती चरणमा नेपाली खेलाडीले ब्याटिङ र बलिङ दुवैतर्फ प्रभावशाली प्रदर्शन गरेका छन् ।
प्रतियोगिताका १३ खेल सम्पन्न हुँदा नेपाली खेलाडीले विदेशी खेलाडीसँग प्रतिस्पर्धा गर्दै व्यक्तिगत प्रदर्शनमा आफूलाई अब्बल साबित गरिरहेका छन् । यसअघिका संस्करणमा सुरुआती चरणदेखि विदेशी खेलाडीको प्रदर्शनले बढी चर्चा पाउने गरेकामा यसपटक नेपाली खेलाडीले पनि ब्याटिङ र बलिङमा निरन्तर प्रभाव छाडेका छन् । विशेषगरी युवा खेलाडीको प्रदर्शनले प्रतियोगितालाई थप प्रतिस्पर्धात्मक बनाएको छ ।
ब्याटिङतर्फ विराटनगर किङ्सका नेपाली ब्याटर लोकेश बम सर्वाधिक रन बनाउने खेलाडीको सूचीमा शीर्ष स्थानमा छन् । उनले चार खेलमा १६२.०६ को स्ट्राइक रेटमा १८८ रन बनाइसकेका छन् । यसक्रममा उनले दुई अर्धशतक प्रहार गरेका छन् ।
विराटनगरको लगातार दुई जितमा लोकेशको ब्याटिङ महत्त्वपूर्ण बनेको थियो । आक्रामक ब्याटिङ गरिरहेका उनले छोटो समयमै ठूलो स्कोर बनाउन सक्ने क्षमता देखाएका छन् ।
सर्वाधिक रन बनाउने खेलाडीको सूचीमा दोस्रो स्थानमा विराटनगरकै वेस्ट इन्डिजका अलराउन्डर आन्द्रे रसेल छन् । उनले चार खेलमा एक अर्धशतकसहित १४१ रन बनाएका छन् । अन्तरराष्ट्रिय क्रिकेटमा स्थापित रसेलसँगै नेपाली ब्याटरले सर्वाधिक रन बनाउने खेलाडीको सूचीमा अग्रता लिनु घरेलु क्रिकेटका लागि सकारात्मक पक्ष हो ।
लोकेशबाहेक नेपाली युवा ब्याटर पवन सर्राफ र इमरान शेखले पनि राम्रो प्रदर्शन गरिरहेका छन् । पवनले १०३ र इमरानले १०० रन बनाइसकेका छन् । नेपाली ब्याटरले व्यक्तिगत प्रदर्शनमा सुधार गर्दै टोलीको जितमा समेत योगदान पुर्याउन थालेका छन् ।
विराटनगर किङ्सका निर्देशक दीपेन्द्र चौधरीले एनपिएलमा नेपाली खेलाडीले देखाएको प्रदर्शन नेपाली क्रिकेटका लागि सुखद रहेको बताउनुभयो । प्रतियोगिताको सुरुआती चरणमै घरेलु खेलाडीले विदेशी खेलाडीसँग प्रतिस्पर्धा गर्दै आफ्नो क्षमता देखाउनु सकारात्मक सङ्केत भएको उहाँको भनाइ छ ।
“जारी एनपिएलको सुरुआती चरणमा नेपाली खेलाडीबाट राम्रो प्रदर्शन देखिएको छ । प्लेयर अफ द म्याच अवार्ड जित्ने खेलाडीको सूचीमा पनि घरेलु खेलाडी अगाडि देखिएका छन् । यो नेपाली क्रिकेटका लागि राम्रो सङ्केत हो”, पूर्वराष्ट्रिय क्रिकेट खेलाडीसमेत रहनुभएका चौधरीले रासससँग भन्नुभयो ।
ब्याटिङमा मात्र नभई बलिङतर्फ पनि नेपाली खेलाडीको प्रदर्शन उल्लेखनीय छ । सर्वाधिक विकेट लिने खेलाडीको सूचीमा कर्णाली याक्सका कप्तान सोमपाल कामी शीर्ष स्थानमा छन् । उनले तीन खेलमा ८.२० को इकोनोमी रेटमा सात विकेट लिएका छन् । – रासस





