अमेरिका र चीनबीच वासिङ्टनमा वार्ता, यस्तो छ एजेन्डा

मूलखबर संवाददाता
काठमाडौं, १९ कात्तिक

विश्व महाशक्ति दुई देश अमेरिका र चीनका रक्षा अधिकारीहरूबीच वासिङ्टनमा ‘क्राइसिस कम्युनिकेसन्स एन्ड प्रिभेन्सन वोर्किङ ग्रुप’ को पहिलो औपचारिक बैठक सम्पन्न भएको छ।

नोभेम्बर २ र ३ मा भएको उक्त उच्चस्तरीय बैठकमा दुवै देशबीच सम्भावित सैन्य जोखिमहरू कम गर्न र आकस्मिक संकट व्यवस्थापनका लागि व्यावहारिक सञ्चार माध्यमहरूलाई प्रवर्द्धन गर्ने विषयमा सहमति जुटेको अमेरिकी रक्षा मन्त्रालयले जनाएको छ।

बैठकमा अमेरिकाको तर्फबाट नीति सम्बन्धी उप-रक्षामन्त्रीको कार्यालयअन्तर्गत चीन, ताइवान र मङ्गोलिया मामिलाकी प्रमुख निर्देशक सिन्थिया ‘स्यान्थी’ कारास ले प्रतिनिधित्व गरेकी थिइन् भने चिनियाँ तर्फबाट जनमुक्ति सेना (पीएलए) को अन्तर्राष्ट्रिय सैन्य सहकार्य कार्यालयअन्तर्गत अमेरिका तथा ओशिनिया मामिला विभागका उप-निर्देशक सिनियर कर्नेल वाङ वेई सहभागी भएका थिए।

पेन्टागनका अनुसार दुवै देशले संकटका बेला ‘शीघ्रता र प्रभावकारी रूपमा’ सञ्चार कायम गर्न अतिरिक्त च्यानलहरू प्रयोग गर्ने र आगामी महिनाहरूमा जनमुक्ति सेनासँग रणनीतिक रक्षा मुद्दाहरूमा छलफल जारी राख्ने सहमति जनाएका छन्। – एजेन्सी