नेपाली कम्युनिस्ट पार्टी र नेपाल कम्युनिस्ट पार्टीबीच एकता, सबै कम्युनिस्ट एकजुट बनौँ : प्रचण्ड

मूलखबर संवाददाता
काठमाडौं

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी र नेपाल कम्युनिस्ट पार्टीबीच एकता भएको छ।

नेपाली कम्युनिस्ट पार्टीको मुख्यालय पेरिसडाँडामा आयाेजित कार्यक्रममा उमा भुजेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी पुष्पकमल दाहाल प्रचण्ड  नेतृत्वको नेकपासँग समायाेजन गरिएको थियाे ।

साे कार्यक्रमा सम्बाेधन गर्दै प्रचण्डले एकता  प्रक्रियालाई थप सुदृढ बनाउँदै देशका सबै कम्युनिस्ट तथा वामपन्थी शक्तिहरूलाई एकताबद्ध हुन  आह्वान गरेका छन्।
एकता घोषणा कार्यक्रममा सम्बोधन गर्दै प्रचण्डले कम्युनिस्ट आन्दोलनलाई बलियो बनाउन विभाजित कम्युनिस्ट शक्तिहरूबीच एकता र सहकार्य आवश्यक रहेको बताए। उनले व्यक्तिगत स्वार्थ, गुटगत प्रवृत्ति र विभाजनबाट माथि उठेर देश, जनता र समाजवादी आन्दोलनको हितमा सबै कम्युनिस्ट एकजुट हुनुपर्नेमा जोड दिए।
उनले नेपालको कम्युनिस्ट आन्दोलनले विभिन्न उतारचढाव र चुनौती सामना गर्दै आएको उल्लेख गर्दै वर्तमान परिस्थितिमा कम्युनिस्ट शक्तिहरूबीचको एकता ऐतिहासिक आवश्यकता भएको धारणा राखे।
प्रचण्डले एकतालाई केवल पार्टीको संगठनात्मक मिलनमा सीमित नराखी विचार, नीति, कार्यक्रम र जनताको पक्षमा गरिने राजनीतिक अभियानका रूपमा विकास गर्नुपर्ने बताए। जनताको अपेक्षा, राष्ट्रिय स्वाधीनता, सुशासन, सामाजिक न्याय र समृद्धिको लक्ष्य प्राप्तिका लागि एकताबद्ध भएर अघि बढ्नुपर्ने उनको भनाइ थियो।
कार्यक्रममा नेपाली  कम्युनिस्ट पार्टीका सहसंयाेजक माधव नेपा, नेता नारायणकाजी श्रेष्ठसहितका नेता तथा कार्यकर्ताहरूको उपस्थिति रहेको थियो। सहभागी नेताहरूले कम्युनिस्ट आन्दोलनलाई नयाँ ऊर्जा प्रदान गर्न एकता प्रक्रियालाई प्रभावकारी रूपमा अगाडि बढाउनुपर्ने धारणा राखेका थिए।
कम्युनिस्ट शक्तिहरूबीचको एकताले नेपालको वामपन्थी राजनीतिमा नयाँ राजनीतिक समीकरण र सम्भावनाको ढोका खोल्ने अपेक्षा गरिएको छ।