कङ्गोमा इबोला सङ्क्रमित हुनेको सङ्ख्या १० हजार नाघ्याे

मूलखबर संवाददाता
काठमाडौं, १० कात्तिक

अफ्रिकामा इबोलाको प्रकोप फैलिरहेका बेला प्रजातान्त्रिक गणतन्त्र कङ्गो (डीआरसी) मा यस रोगबाट सङ्क्रमित हुनेको सङ्ख्या १० हजार नाघेको छ ।

स्वास्थ्य अधिकारीहरूले मङ्गलबार सार्वजनिक गरेको तथ्याङ्कअनुसार, मे महिनामा प्रकोप सुरु भएयता अक्टोबर २५ सम्ममा १० हजार ६० जनामा संक्रमण पुष्टि भएको छ भने चार हजार ८८७ जनाको मृत्यु भएको छ ।

यसअनुसार सङ्क्रमण पुष्टि भएकामध्ये मृत्युदर ४८ दशमलव छ प्रतिशत रहेको छ ।

यो प्रकोप कङ्गोका २६ प्रान्तमध्ये आठ प्रान्तका ६६ स्वास्थ्य क्षेत्रमा फैलिएको प्रतिवेदनमा उल्लेख छ । पूर्वी प्रान्त इतुरी यस प्रकोपको मुख्य केन्द्र बनेको छ, जहाँ कुल संक्रमितमध्ये ७१ दशमलव सात प्रतिशत रहेका छन् ।

बुन्दिबुग्यो प्रजातिको इबोला भाइरसका कारण फैलिएको प्रकोपबारे कङ्गोले मे १५ मा घोषणा गरेको थियो । त्यसयता यो प्रकोप पाँच देशमा देखिएको छ । कङ्गोबाहेक युगान्डा, केन्या र नाइजेरियामा पनि सङ्क्रमण फैलिएको छ भने फ्रान्समा बाहिरबाट भित्रिएको एक सङ्क्रमणको घटना पुष्टि भएको थियो ।

इबोला भाइरसको बढी परिचित जाइरे प्रजातिभन्दा फरक, बुन्दिबुग्यो प्रजातिका लागि हालसम्म स्वीकृत खोप वा विशिष्ट उपचार उपलब्ध छैन ।

यो प्रकोप प्रजातान्त्रिक गणतन्त्र कङ्गोको इतिहासकै सबैभन्दा ठूलो र घातक इबोला प्रकोप बनेको प्रतिवेदनमा उल्लेख छ । सन् २०१४ देखि २०१६ सम्म पश्चिम अफ्रिकामा फैलिएको महामारीपछि यो विश्वकै दोस्रो ठूलो इबोला प्रकोप भएको जनाइएको छ ।