बेलायतको ईयू पुनरागमन तत्काल असम्भव

मूलखबर संवाददाता
काठमाडौं, १० कात्तिक

बेलायती प्रधानमन्त्री एन्डी बर्नहमले वर्तमान संसदको कार्यकालमा बेलायत युरोपेली सङ्घ (ईयू) मा पुनः आबद्ध हुने सम्भावना नरहेको बताउनुभएको छ ।

बेलायती सञ्चारमाध्यममा सोमबार प्रसारित अन्तर्वार्तामा आफूले जीवनकालमै बेलायत ईयूमा पुनः आबद्ध भएको हेर्न चाहेको उहाँले बताउनुभयो । तर, वर्तमान संसदको कार्यकालमा पुनः आबद्ध हुने प्रस्ताव भने आफूले अघि नसारेको उहाँको भनाइ थियो ।

“अहिलेको परिस्थितिमा हामी त्यस्तो अवस्थाबाट धेरै टाढा छौँ,” उहाँले भन्नुभयो ।

बर्नहमले ब्रेक्जिटपछिको एक दशकको अनुभवले त्यसबेला गरिएका अपेक्षाअनुसार परिणाम दिन नसकेको बताउनुभयो ।

उहाँका अनुसार, ब्रेक्जिटले बेलायतको अर्थतन्त्र र आप्रवासन नियन्त्रण गर्ने क्षमतालाई कमजोर बनाएको छ । ब्रेक्जिटपछि नै साना डुङ्गामार्फत बेलायत प्रवेश गर्ने अवैध आप्रवासीको समस्या उत्पन्न भएको उहाँले बताउनुभयो ।

सन् २०१६ जुनमा भएको जनमतसङ्ग्रहमा करिब ५२ प्रतिशत मतदाताले ईयूबाट बाहिरिने पक्षमा मतदान गरेका थिए । सन् २०२० मा बेलायत औपचारिक रूपमा ईयूबाट बाहिरिएको थियो । सन् २०२६ मा ब्रेक्जिट जनमतसङ्ग्रह भएको एक दशक पूरा हुँदैछ ।

सन् २०२४ को आमनिर्वाचनमा बेलायतको लेबर पार्टीले संसद्को तल्लो सदन हाउस अफ कमन्समा बहुमत प्राप्त गरेको थियो । समयअगावै निर्वाचन नभएमा वर्तमान संसदको कार्यकाल पाँच वर्षको हुनेछ ।