उपल्लो मुस्ताङको दुई गाउँपालिकामा २५ दिनदेखि इन्टरनेट अवरुद्घ
उपल्लो मुस्ताङको दुई गाउँपालिकामा २५ दिनदेखि इन्टरनेट सेवा प्रदायक संस्था टेकमाइण्ड नेटवर्कको इन्टरनेट सेवा अवरुद्ध भएको छ ।
गत असोज ९ गतेदेखि परेको अबिरल बर्षासँगै आएको बाढीपछि उत्तरी चिनसँग सीमाना जोडिएको लोमन्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकामा विस्तार गरिएको इन्टरनेट मर्मत नहुँदा सर्वसाधारणदेखि सेवासमेत प्रभावित बनेको छ ।
नेपाल टेलिकमबाहेक नीजि सेवा प्रदायक संस्था टेकमाइण्ड नेटवर्कले विस्तार गरेको इन्टरनेट सेवा अवरुद्ध हुँदा गाउँपालिका, बैंक तथा वित्तीय संस्था, प्रशासनिक, सुरक्षा निकाय, एक्यापसहित विभिन्न संघ संस्थाको सेवा प्रवाहमा समस्या भएको लोमान्थाङ गाउँपालिका अध्यक्ष टसीनर्बु गुरूङले बताउनुभयो ।
अध्यक्ष गुरूङले भन्नुभयो, ‘‘इन्टरनेट मर्मत नहुँदा सरकारी सेवा प्रवाह समेत प्रभावित भएको छ, अन्य बैकल्पिक माध्यमबाट काम गरिएको छ, अग्रिम भुक्तानी गरेको कम्पनीले मर्मतमा चासो देखाएको छैन ।’’
अध्यक्ष गुरूङले मर्मतका लागि बारम्बार अनुरोध गर्दा समेत बेवास्ता भएपछि जिल्ला प्रशासन कार्यालयमार्फत समेत सम्बन्धित कम्पनीको ध्यानाकर्षण गराइएको बताउनुभयो । उपल्लो मुस्ताङमा सरकारी, गैरसरकारी तथा ब्यक्तिगत घरमा समेत टेकमाइण्ड नेटवर्कको इन्टरनेट प्रयोग गर्नेगरेको अध्यक्ष गुरूङले बताउनुभयो ।





