किर्तिपुर हाेल्डिङ सेन्टरमा रहेका रसुवा बाढीपीडितलाई दशैंमा खाद्यान्न सहयाेग
रसुवाकाे भाेटेकाेशीमा बाढी आएकाे २ महिना पुग्न लागिसक्याे । सरकारले उद्वार र खाेजीकाे काम समाप्त भएको बताएको पनि दुई हप्ता भयाे । तर बाढीबाट पीडितहरूकाे उचित व्यवस्थापन भने अझै हुन सकेकाे छैन । हाेल्डिङ सेन्टरमा राखिएका पीडित र प्रभावितहरू दशैंकाे अवसरमा समेत उचित खानपान र बसाेवासकाे अभावमा रहेका छन् ।
यसै क्रममा काठमाडौंकाे किर्तिपुर नगरपालिका अन्तरगत मच्छेगाउँमा रहेकाे हाेल्डिङ सेन्टरमा राखिएका रसुवाका बाढीबाट प्रभावित र पीडितलाई शनिबार खाद्यान्नलगायतका सामग्री सहितकाे राहत उपलब्ध गराईएकाे छ ।
निवर्तमान प्रतिनिधिसभा सदस्य तथा नेकपाकी नेतृ मिना तामाङकाे पहल र उपस्थितिमा रसुवाका आमाछाेदिङ्माे गाउँपालिका वडा नं १,२,३, ४ का बाढी प्रभावित १९० घर परिवारमध्ये साे हाेल्डिङ सेन्टरमा रहेका १०० घरपरिवारका लागि राहत सहयाेग उपलब्ध गरिएको हाे । गाउँपालिका अध्यक्षसहितकाे उपस्थितिमा भएको साे राहत उपलब्ध गराउने कार्यक्रममा सरकारले बाहिर प्रचार गरेजस्तो पीडित र प्रभावितलाई व्यवस्थापन नभएको गुनासाे उनीहरूले गरेका थिए ।





