सर्वाेच्चका न्यायाधीश सिफारिसमा वरीयता विवाद

मूलखबर संवाददाता
काठमाडौं, २१ असाेज

सर्वाेच्च अदालतकाे न्यायाधीश सिफारिसमा बरियता मिचिएकाे छ ।  न्याय परिषद्ले सर्वोच्च अदालतको न्यायाधीश पदमा नियुक्तिका लागि उच्च अदालतका मुख्य न्यायाधीशसहित ४ जना न्यायाधीशहरूलाई सिफारिस गर्दा बरियता मिचिएकाे हाे ।

परिषद्का अध्यक्ष एवं प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माको अध्यक्षतामा मंगलबार बसेको बैठकले उच्च अदालतका मुख्य न्यायाधीश एवं न्यायाधीशहरूलाई सिफारिस गरेको थियाे ।

परिषद्की प्रवक्ता रामप्यारी सुनुवारका अनुसार, उच्च अदालत पोखराका मुख्य न्यायाधीश डा. रत्नबहादुर बागचन्द, उच्च अदालत पाटनका न्यायाधीश चन्द्रबहादुर सारू, उच्च अदालत पाटन, हेटौंडा इजलासका न्यायाधीश जनक पाण्डे, उच्च अदालत जनकपुर, अस्थायी इजलास वीरगन्जका न्यायाधीश गोकर्ण डाँगीलाई सिफारिस गरिएको छ।

सारूले वरीयतामा अगाडि रहेका मुख्य न्यायाधीशहरू पछि पार्दै न्यायाधीशमा सिफारिस भएका हुन्। सारू २०७३ सालमा उच्च अदालतको न्यायाधीश भएका हुन्। त्यस्तै झापाका जनक पाण्डे पनि २०७३ सालमा उच्च अदालतमा न्यायाधीश नियुक्त भएका हुन्। दाङका गोकर्ण डाँगी पनि २०७३ सालमै उच्च अदालतको न्यायाधीश नियुक्त भएका हुन्।

कैलालीका बागचन्द सबैभन्दा वरिष्ठ मुख्य न्यायाधीश हुन्। ५७ वर्षीय बागचन्दले पीएचडी, एमए, बीएल गरेका छन्। २०६६ सालमा न्याय सेवामा प्रवेश गरेका बागचन्द दुई वर्षअघि मुख्य न्यायाधीश भएका हुन्। त्यस्तै अर्घाखाँचीका ६० वर्षीय सारू पनि सर्वोच्चको न्यायाधीशमा सिफारिस भएका छन्। उनी २०४७ सालमा न्याय सेवामा प्रवेश गरेका हुन्।

परिषद् बैठकले वरीयता मिचेर तीन जना न्यायाधीशको सिफारिस गरेको छ। ८ जना वरिष्ठ न्यायाधीशहरूलाई छोडेर सारू, पाण्डे र डाँगीलाई सर्वोच्चको न्यायाधीशमा सिफारिस गरिएको हो। वरीयतामा अगाडी रहेका मुख्य न्यायाधीशहरू राजनप्रसाद भट्टराई, उच्च अदालत पाटनका मुख्य न्यायाधीश लालबहादुर कुँवर, उच्च अदालत सुर्खेतका मुख्य न्यायाधीश हरिप्रसाद भण्डारी र उच्च अदालत तुलसीपुरका मुख्य न्यायाधीश राजेश्वर तिवारी सिफारिस हुन सकेनन्। याे खबर अन्नपूर्णमा छ ।