कांग्रेसले निर्वाचनपूर्व गठबन्धन नगर्ने सभापति थापाकाे घाेषणा
नेपाली कांग्रेसले निर्वाचनपुर्व कसैसँग गठबन्धन नगर्ने प्रस्ताव सभापति गगन थापाले महाधिवेशनमा प्रस्तुत गरेकाे प्रतिवेदनमा छ । पार्टीकाे जारी १५ अाैं महाधिवेशनमा सभापति थापाले राजनीतिक प्रतिवेदन पेश गरेका थिए । जुन पारित पनि भइसकेकाे छ ।
लोकतन्त्र, मानव अधिकार, नागरिक स्वतन्त्रता र संवैधानिक मर्यादामा दृढतापूर्वक अडिने प्रतिवेदनमा जनाइएको छ । स्पष्ट सार्वजनिक उद्देश्य र नीतिगत आधारमा मात्र राजनीतिक सहकार्य गर्ने जनाइएको छ । निर्वाचनपूर्व गठबन्धन गर्नुभन्दा आफ्नै पार्टीको चिह्न, कार्यक्रम र उम्मेदवारसहित प्रतिस्पर्धा गर्दै जित्न योग्य बन्ने उल्लेख छ ।
‘तथ्य, तर्क, विकल्प र कामका आधारमा स्वस्थ बहस गर्ने, न्यायपालिका, संवैधानिक निकाय, विश्वविद्यालय र प्रशासनको स्वतन्त्रता तथा क्षमता बलियो बनाउनेछौं,’ प्रस्तावमा भनिएको छ ।
सार्वजनिक नियुक्तिमा भागबन्डाको सट्टा समावेशितासहित योग्यता, क्षमता र इमानदारीका आधारमा पारदर्शी छनोट अघि बढाउने तथा संवैधानिक नियुक्तिमा दुई वर्षको ‘कुलिङ अफ पिरियड’ को व्यवस्था लागू गर्ने जनाइएको छ ।
सार्वजनिक स्रोत, सम्पत्ति, बजेट र अधिकारको उपयोग सार्वजनिक हित र नागरिक निगरानीमा गर्ने व्यवस्था गरिने उल्लेख छ । स्वार्थको द्वन्द्व, बिचौलियाको प्रभाव र नीतिगत भ्रष्टाचार नियन्त्रण गर्ने तथा निष्पक्ष अनुसन्धान र न्यायिक परीक्षणमा आफ्नै पक्षलाई पनि एउटै नियम लागू गर्ने व्यवस्था मिलाउने राजनीतिक प्रतिवेदनमा जनाइएको छ ।



