पूर्वप्रधानमन्त्री इमरान खानको रिहाइको माग गर्दै पाकिस्तानमा प्रदर्शन

मूलखबर संवाददाता
काठमाडौं

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानको रिहाइको माग गर्दै उहाँका पाँच हजारभन्दा बढी समर्थकले आइतबार खैबर पख्तुनख्वाबाट राजधानी इस्लामावादतर्फ मार्च सुरु गरेका छन् । सरकार र खानको पाकिस्तान तहरीक–ए–इन्साफ (पिटिआई) पार्टीबीच मार्च स्थगित गर्ने विषयमा भएको वार्ता निष्कर्षविहीन भएपछि समर्थकहरू राजधानीतर्फ अघि बढेका हुन् ।

खान भ्रष्टाचारलगायतका अभियोगमा सन् २०२३ देखि जेलमा हुनुहुन्छ । उहाँ र उहाँको पार्टीले ती अभियोग राजनीतिक रूपमा प्रेरित भएको बताउँदै आएका छन् । कारावासमा रहे पनि खानले ठूलो जनसमर्थन कायम राख्नुभएको छ ।

पिटिआई समर्थकहरू ट्रक, बस र कार लिएर लक्की मारवत जिल्लाबाट राजधानीतर्फ अघि बढेका छन् । मार्चको नेतृत्व खैबर पख्तुनख्वाका मुख्यमन्त्री तथा खानका समर्थक सोहेल अफ्रिदीले गर्नुभएको छ । अधिकारीहरूले इस्लामावाद प्रवेश गर्ने मुख्य मार्ग र सहरभित्र कन्टेनर राखेर सडक अवरोध गरेका छन् ।

पिटिआई अध्यक्ष गौहर खानले दुई चरणको वार्तापछि छलफल ठप्प भएको बताउनुभएको छ । गृहमन्त्री मोहसिन नकवीले वार्ता असफल हुनुमा अफ्रिदीलाई जिम्मेवार ठहराउँदै मार्चका क्रममा मानवीय क्षति भए उहाँ नै जिम्मेवार हुने चेतावनी दिनुभएको छ ।

सरकारले उत्तरपश्चिमी क्षेत्रमा पाकिस्तानी तालिबानका आतङ्कवादी आक्रमण बढिरहेकाले मार्च स्थगित गर्न आग्रह गरेको छ । प्रदर्शनकारीहरूले खानको रिहाइसँगै उहाँलाई अस्पतालमा स्थानान्तरण गर्न र परिवारसँग भेट्न दिन माग गरेका छन् । अधिकारीहरूले भने उहाँको स्वास्थ्य राम्रो रहेको र नियमित पारिवारिक भेटघाट भइरहेको बताएका छन् ।

खानलाई अप्रिल २०२२ मा संसदीय अविश्वास प्रस्तावमार्फत प्रधानमन्त्री पदबाट हटाइएको थियो । फेब्रुअरी २०२४ को निर्वाचनपछि शाहबाज सरिफ पुनः प्रधानमन्त्री बन्नुभएको हो । उक्त निर्वाचनमा धाँधली भएको खानको पार्टीको आरोप सरकारले अस्वीकार गर्दै आएको छ ।