नयाँ चीन : गरिबी उन्मूलनदेखि विश्वशक्तिसम्म
सन् १९४९ अक्टोबर १ का दिन अध्यक्ष माओत्सेतुङले बेइजिङको तियानआनमेन चोकको माथिल्लो बुर्जाबाट जनगणतन्त्र चीन स्थापनाको घोषणा गरेको क्षण चीन लामो युद्ध, राजनीतिक अस्थिरता र आर्थिक पछौटेपनबाट गुज्रिरहेको अवस्था थियो । तर आज ७७ वर्षपछि त्यही चीन विश्व अर्थतन्त्रको प्रमुख केन्द्र,औद्योगिक शक्तिराष्ट्र र विश्व राजनीतिमा निर्णायक प्रभाव राख्ने सशक्त मुलुकका रूपमा उभिएको छ ।
चीनको यो विश्मयकारी रूपान्तरण कुनै एक दिन वा एक नेताको मेहनतको परिणाम होइन । चिनियाँ कम्युनिष्ट पार्टीको नेतृत्वमा भएको राजनीतिक पुनर्संरचना,माओकालीन औद्योगिकीकरणका प्रयास,तङ स्याओपिङले थालेको आर्थिक सुधार, विश्व बजारसँगको एकीकरण र पछिल्लो चरणमा प्रविधि तथा रणनीतिक क्षमता प्रवर्धनमा गरिएको खर्बौैं लगानी यसको दीर्घकालीन र विश्वसनीय यात्राका विभिन्न अध्याय हुन् ।
क्रान्तिदेखि राज्य निर्माणसम्म
चिनियाँ कम्युनिष्ट पार्टीको स्थापना सन् १९२१ मा भएको हो । करिब तीन दशक लामो राजनीतिक संघर्षपछि सन् १९४९ मा जनगणतन्त्र चीन स्थापना भयो । त्यतिबेला चिनियाँ कम्युनिष्ट पार्टी, उसको नेतृत्व र नयाँ सरकारका सामुन्ने विशाल जनसंख्यालाई विश्वासका साथ एकीकृत गराउने,औद्योगिक आधार र वातावरण बनाउने,गरिबी घटाउने एवम् कमजोर भएको राष्ट्रिय सार्वभौमिकता बलियो बनाउने चुनौती थिए ।
अध्यक्ष माओको नेतृत्वमा नयाँ चीनको प्रारम्भिक अवस्थामा नै कृषि प्रधान समाजलाई औद्योगिक मुलुकमा रूपान्तरण गर्ने प्रयास गरिएको थियो । बीचका केही सामाजिक अनुभवबाट तत्कालीन चिनियाँ नेतृत्वलाई मुलुकको आर्थिक नीतिमा नयाँ बाटो खोज्न प्रेरित गरेको परिणामस्वरुप चीनले आर्थिक विकासमा छलाङ मारेको हो भन्न सकिन्छ ।
चिनियाँ कम्युनिष्ट पार्टीको आफ्नै ऐतिहासिक मूल्याङ्कनले पनि सन् १९४९ को अक्टोबर १ लाई आधुनिक चीनको निर्णायक राजनीतिक रूपान्तरणका रूपमा प्रस्तुत गर्दै आएको छ ।
तङ स्याओपिङ : चीनको नयाँ मोड
चीनको आधुनिक आर्थिक इतिहासमा सन् १९७८ लाई एउटा निर्णायक मोडको रुपमा लिने गरिन्छ । सुधारवादी नेता तङ स्याओपिङको नेतृत्वमा चीनले ‘सुधार र खुलापन’ को नीति अघि बढायो । अर्थतन्त्रमा खुला बजारका केही संयन्त्र प्रयोग गर्ने,विदेशी लगानी आकर्षित गर्ने,विशेष आर्थिक क्षेत्र निर्माण गर्ने,कृषि उत्पादनलाई प्रोत्साहन गर्ने र वाह्य विश्वसँग व्यापार विस्तार गर्ने नीति थियो ।
समुद्र जोडिएका दक्षिणी तटीय भूभागमा विशेष आर्थिक क्षेत्रहरूको विकास र विदेशी पुँजी तथा प्रविधिलाई प्रवेश दिने नीतिले उत्पादन क्षमतामा तीव्र परिवर्तन ल्याइदियो । सन् १९७८ देखि चीनको आर्थिक वृद्धि औसतमा वार्षिक ९ प्रतिशतभन्दा बढी हुन पुग्यो । केही वर्षको आर्थिक विकासले करिब ८० करोड मानिसलाई चरम गरिबीबाट बाहिर ल्याएको स्वयम् विश्व बैंकको तथ्याङ्ले पनि देखाउँछ ।
यसको अर्थ चीनले आर्थिक सुधार मात्रै गरेको थिएन । करोडौँ नागरिकको गरिबी,बेरोजगारी,अशिक्षा,स्वास्थ्य अभाव,न्यून पूर्वाधारमा सुधार ल्याउँदै शहरीकरणमासमेत ठूलो परिवर्तन ल्यायो ।
विश्व बजारमा प्रवेश
चीनको आर्थिक रूपान्तरणमा सन् २००१ अर्को ऐतिहासिक वर्ष बनेको पाइन्छ । ११ डिसेम्बर २००१ मा चीन विश्व व्यापार संगठन (डब्लुटिओ) को सदस्य बनेको हो । त्यसका लागि चीनले करिब १५ वर्ष लामो वार्ता गर्दै विश्व बजारमा थप खुलापन तथा कानुनी सुधारका प्रतिबद्धता जनाएको थियो ।
डब्लुटिओमा प्रवेशपछि चीन विश्व आपूर्ति शृंखलाको केन्द्रमा रहन पुग्यो । पश्चिमा राष्ट्रको तुलनामा सस्तो श्रम, विशाल घरेलु बजार,अथाह पूर्वाधार र औद्योगिक क्षमताको संयोजनले चीनलाई ‘विश्वको कारखाना’ बनाइदियो । त्यसपछि उसको हरेक उत्पादन विश्व बजारमा पुग्यो ।
विश्व बैंकका अनुसार चीनको कूल गार्हस्थ्य उत्पादन सन् १९९० मा करिब ३६२ अर्ब अमेरिकी डलर थियो । उक्त अवस्थामा बढोत्तरी भएपछि पछिल्लो दशकमा १८ ट्रिलियन डलरभन्दा माथि पुगेको छ ।
सि चिनफिङ युग : विकासबाट प्रभाव विस्तार
सि चिनफिङ चिनियाँ कम्युनिष्ट पार्टी र मुलुकको राजनीतिक नेतृत्वमा आएपछि चीनको विकास रणनीतिमा आर्थिक वृद्धिसँगै राष्ट्रिय शक्ति,प्रविधि,सुरक्षा र अन्तर्राष्ट्रिय प्रभावलाई थप जोड दिएको पाइन्छ ।
बेल्ट एन्ड रोड इनिसिएटिभ,उच्च प्रविधि,डिजिटल पूर्वाधार,कृत्रिम बुद्धिमत्ता,विद्युतीय सवारीसाधन,ब्याट्री, सौर्य ऊर्जा र अन्तरिक्ष कार्यक्रम चीनको नयाँ विकास यात्राका महत्वपूर्ण क्षेत्र बनिसकेका छन् । यस अवधिमा चीनले विश्व राजनीतिमा आफ्नो उपस्थिति समेत विस्तार गरेको छ ।
व्यापार, लगानी,पूर्वाधार,कूटनीति र बहुपक्षीय संस्थामार्फत चीनको प्रभाव एसिया मात्र नभई अफ्रिका,युरोप, मध्यपूर्व र ल्याटिन अमेरिकासम्म फैलिएको छ । विश्व अर्थतन्त्रमा चीनको आकारले सबैलाई प्रभाव पार्न थालेको छ । चीनको आर्थिक नीति र वृद्धिदरमा आउने परिवर्तनले विश्व बजारमा समेत प्रभाव नजिकको वृद्धिदरमा असर पार्न थालेको छ ।
‘तीव्र वृद्धि’बाट ‘उच्च गुणस्तर’तर्फ
चीनको कथा अब तीव्र आर्थिक वृद्धिको कथामा मात्रै सीमित छैन । विगतमा दशकौंसम्म दुई अंक नजिकको आर्थिक वृद्धिदर रहेको चीनमा अहिले कायम रहेको वृद्धिदरलाई सहज ढंगले अघि बढाउन नयाँ नीति तर्जुमा गरिएको छ ।
विश्व बैंकले चालु आर्थिक वर्ष चीनको आर्थिक वृद्धि ४.४ प्रतिशत हुने र सन् २०२७ मा ४.३ प्रतिशत हुनसक्ने प्रक्षेपण गरेको छ। यसबीचमा चीनको विकासको अर्को चरण पहिलेको भन्दा फरक हुने संकेत पनि मिलेको छ । सस्तो श्रम र ठूलो उत्पादन क्षमतामा आधारित मोडलबाट प्रविधि,नवप्रवर्तन र उच्च उत्पादकत्वमा आधारित अर्थतन्त्रतर्फ चीन जाने निश्चित छ ।
समृद्धि
चीनले चरम गरिबी उन्मूलनमा ऐतिहासिक उपलब्धि हासिल गरेको छ। विश्व बैंकका अनुसार सन् २०२० सम्ममा चीनले चरम गरिबी अन्त्य गरेको थियो। नागरिकको दैनिकी,शिक्षा,पूर्वाधार र स्वास्थ्य सेवामा पनि दशकौँमा उल्लेख्य सुधार भएको छ ।
विश्व राजनीतिमा नयाँ चीन
७७ वर्षअघिको चीन र आजको चीनबीचको सबैभन्दा ठूलो अन्तर उसको विश्वव्यापी प्रभाव हो। सन् १९४९ मा आफ्नो राज्य निर्माणमा केन्द्रित चीन आज विश्व व्यापार, उत्पादन, प्रविधि, पूर्वाधार, कूटनीति र रणनीतिक प्रतिस्पर्धाको एक प्रमुख खेलाडी बनेको छ।
यो यात्रामा चिनियाँ कम्युनिष्ट पार्टीले आफ्नो शासन प्रणालीलाई आर्थिक विकाससँग क्रमशः जोड्दै आएको छ। अध्यक्ष माओको क्रान्ति, नेता तङको आर्थिक सुधार हुँदै राष्ट्रपति सी चिनफिङको नेतृत्वमा चीनले राष्ट्रिय पुनरुत्थान, प्रविधि र विश्वव्यापी प्रभावलाई विकासको नयाँ भाषाका रूपमा अगाडि सारेको छ।
नयाँ चीनको ७७ वर्षको अवधिले एउटा कुरा स्पष्ट पारेको छ त्यो हो गरिब र कमजोर औद्योगिक आधार भएको मुलुकबाट विश्व अर्थतन्त्रको प्रमुख शक्तिसम्म असाधारण यात्रा तय गरेको छ। आगामी अध्यायले चीनलाई केवल ठूलो अर्थतन्त्रका रूपमा मात्रै नभएर २१औँ शताब्दीको विश्व व्यवस्थालाई आकार दिने प्रमुख शक्तिका रूपमा अघि सार्ने सम्भावना पनि उत्तिकै देखिन्छ । भलै चीनलाई आजका दिनसम्म विकासोन्मुख मुलुकहरुको उच्च श्रेणीमा पुगेको राष्ट्रका रुपमा लिइन्छ।



