साल्ट ट्रेडिङकाे सुपथ मूल्य पसलबाट उपभोक्तालाई राहत

मूलखबर संवाददाता
काठमाडौं, १० असाेज

साल्ट ट्रेडिङ कर्पाेरेशन लिमिटेडद्वारा दशैँ , तिहार तथा छठपर्वलाई लक्षित गरी सञ्चालन गरिएको सुपथ मुल्य पसलले उपभोक्तालाई राहत मिलेको छ ।

कर्पाेरेशनले जिल्लामा यही असोज ५ गते सोमबारदेखि चाडपर्व लक्षित सुपथ मूल्य पसल सञ्चालनमा आएको आएपछि उपभोक्ताको भीड नै लागेको छ । दैनिक ५०० जनासम्म उपभोक्ता सुपथ मुल्य पसलमा आउने गरेको पाइएको छ । साल्ट ट्रेडिङ कर्पोरेसन बागलुङ शाखाले सहुलियत मुल्यमा चिनी, नून, दाल, चिउरा,मैदा, तोरीको तेल र आटाको सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको हो ।
उपभोक्ता सन्जय शर्माले चाडपर्वका मुखमा उपभोक्तालाई खाद्य पदार्थमा केही सहुलियत दिएपछि राहत मिलेको बताउनुभयो ।

नजिकिँदै गरेको दशैँ, तिहार, छठलगायत ठूला चाडपर्वमा नागरिकलाई सहुलियतका लागि बागलुङ नगरपालिका–४ उपल्लाचौरस्थित कार्यालयमा सुपथ मूल्य पसल सञ्चालन ल्याइएको साल्ट ट्रेडिङ कर्पोरेसन बागलुङका कार्यालय प्रमुख मनोजकुमार श्रेष्ठले जानकारी दिनुभयो । कार्यलयले हरेक वर्ष सुपथ मूल्य पसल सञ्चालनमा ल्याउने गरेको छ । सुपथ मुल्यसँगै गुणस्तरीय समाग्रीका लागि उपभोक्ता लाइनमा बसेरै खाद्य सामग्री खरिद गर्न थालेका छन् ।

बजारमा मुल्य वृद्धि भइरहेको चिनी, नुन तथा तेललगायतका उपभोग्य बस्तु सरकारी निकायले छुट सुविधासहित दिएपछि उपभोक्ता लामबद्ध भएर खरिद गर्न व्यस्त छन् । उपभोक्तालाई बिलसहित कारोवार गरिरहेको छ । पसलबाट ग्राहकले सुपथ मूल्यमा नुन, चिनी, खाने तोरीको तेल तथा आटा खरिद गर्न सक्ने प्रमुख श्रेष्ठले बताउनुभयो । पसल आगमी कात्तिक ३० गतेसम्म सञ्चालनमा रहने जनाइएको छ ।