विपद पुर्व उच्च सुरक्षा सतर्कता अपनाउन नेपाली कम्युनिष्ट पार्टीको अपिल
नेपाली कम्युनिस्ट पार्टीले सम्भावित भारी वर्षा, बाढी, पहिरो, डुबान लगायतका जोखिमप्रति उच्च सुरक्षा सतर्कता अपनाउन अपिल गरेको छ ।
पार्टीको तर्फबाट सार्वजनिक अपिल जारी गर्दै अपुष्ट सूचना तथा अफवाहमा विश्वास नगर्न, त्यस्ता अफवाह नफैलाउन, आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई आधार मान्न र त्यस्ता सूचनामात्र सम्प्रेषण गर्न सबैमा अनुरोध समेत गरेको छ ।
अपिलमा भनिएको छ-
जल तथा मौसम विज्ञान विभागका अनुसार बंगालको खाडीको पूर्वी भाग अर्थात् उत्तर अण्डमान सागर आसपास विकसित न्यून चापीय मौसमी प्रणालीका कारण असोज ९ गतेदेखि ११ गतेसम्म नेपालका विभिन्न भागमा मेघगर्जन र चट्याङसहित भारीदेखि धेरै भारी वर्षा हुन सक्ने तथा त्यसबाट नदी तथा खोलामा पानीको बहाव बढ्ने, आकस्मिक रुपमा बाढी, पहिरो, गेग्रान बाढी आउन सक्ने, डुबान हुन सक्ने, उच्च हिमाली क्षेत्रमा हिमपातको जोखिम हुन सक्ने तथा सडक तथा हवाई यातायातसमेत प्रभावित हुन सक्ने अवस्था रहेको छ ।
विशेषगरी नदी तथा खोलानाला आसपासका क्षेत्र, पहिरो जोखिमयुक्त पहाडी तथा भिराला भूभाग, डुबान हुनसक्ने क्षेत्र र उच्च हिमाली क्षेत्रमा संभावित जोखिम बढी भएकोले त्यस्ता क्षेत्रहरुमा थप सतर्कता आवश्यक छ । केही समयअघि मात्र रसुवा-भोटेकोशी विनाशकारी बाढीबाट ठूलो जनधनको क्षति भएको र प्रभावित जन समुदाय अझै कठिन अवस्थामा रहेको परिवेशमा भारी वर्षाका कारण पुनः अर्को प्राकृतिक प्रकोपको संभावित जोखिमप्रति सबै पक्ष गम्भिर बन्नु जरुरी छ ।
यस परिस्थितिमा हाम्रो पार्टी नेपाली कम्युनिस्ट पार्टी आम नागरिकलाई सम्भावित जोखिमबाट सुरक्षित रहनका लागि उच्च सतर्कता अपनाउन, अत्यावश्यक कामबाहेक जोखिमपूर्ण यात्रा तथा हिँडडुल नगर्न, लामो दुरी र रातीको समयमा यात्रा नगर्न, नदी-खोला किनार वा आसपास तथा बाढी-पहिरोको जोखिम भएका क्षेत्रमा नजान, जोखिमयुक्त स्थानमा रहेकाहरू समयमै सुरक्षित स्थानमा जान, पशुचौपाया, औपधि, बहुमूल्य धनसम्पत्ति, महत्वपूर्ण कागजात, खाद्यान्न, लत्ताकपडाआदि सुरक्षित राख्न विनम्रतापूर्वक अनुरोध गर्दछ । यस अवस्थामा बालबालिका, ज्येष्ठ नागरिक, असहाय एवं अपाङ्गता भएका व्यक्ति, गर्भवती एवं सुत्केरी महिला, बिरामी लगायत संवेदनशील समूहको सुरक्षाका लागि विशेष ध्यान दिन सबै तहका सरकार एवं सम्बन्धित पक्षसँग अपिल गर्दछ । साथै, स्थल तथा हवाई यात्रा गर्नैैपर्ने भएमा सम्बन्धित सरकारी तथा सुरक्षा निकायको पछिल्लो सूचना र मौसमको अवस्था बुझेर मात्र यात्रा गर्न आग्रह गर्दछ ।
हाम्रो पार्टी सबै तहका पार्टी कमिटीहरु, जनवर्गीय संगठनहरु, सम्पूर्ण नेता, कार्यकर्ता तथा जनप्रतिनिधिहरूलाई आफू सुरक्षित रहँदै आम नागरिकलाई सचेत गराउन र सम्भावित विपद्को अवस्थामा खोज तथा उद्धार, सुरक्षित स्थानान्तरण, राहत तथा आवश्यक सहयोगका लागि तयारी अवस्थामा रहन आह्वान गर्दछ । स्थानीय पार्टी संरचनाहरुले स्थानीय तह, जिल्ला प्रशासन, सुरक्षा निकाय, रेडक्रस लगायत सम्बन्धित संघसंस्थासँग समन्वय गरी जोखिमसम्बन्धी सूचना संकलन तथा प्रवाह गर्ने, जनसमुदायसम्म पूर्वसूचना पु¥याउने र विपद्को स्थिति आएमा तत्काल उद्धार, राहत लगायतका सहयोग परिचालन गर्ने व्यवस्था मिलाउन निर्देशन गर्दछ ।
हाम्रो पार्टी, यस्तो बेलामा अपुष्ट सूचना तथा अफवाहमा विश्वास नगर्न, त्यस्ता अफवाह नफैलाउन, आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई आधार मान्न र त्यस्ता सूचनामात्र सम्प्रेषण गर्न सबैमा अनुरोध गर्दछ ।
आवश्यक जानकारी तथा आपतकालीन सहयोगका लागि तत्काल निम्न सम्पर्क नम्बरहरुमा सम्पर्क गर्न सबैसँग विशेष अनुरोध छ ।
• जल तथा मौसम विज्ञान विभाग – ११५५: मौसम तथा बाढी पूर्वसूचना
• नेपाल प्रहरी – १००: आपतकालीन प्रहरी सहायता
• सशस्त्र प्रहरी बल – १११४: आपतकालीन उद्धार÷सहायता
• गृह मन्त्रालय÷राष्ट्रिय विपद् प्रतिकार्य समन्वय – ११४९
• गृह मन्त्रालयको विपद् हेल्पलाइन – १२३४
आपतकालीन अवस्थामा नजिकको स्थानीय तह, जिल्ला प्रशासन कार्यालय तथा सुरक्षा निकायका साथै हाम्रो पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा स्थापित ‘विपद् व्यवस्थापन डेस्क’संग समेत तत्काल सम्पर्क गर्न हाम्रो अनुरोध छ ।
सम्भावित जोखिमको यस घडीमा जनताको जीवन रक्षा, विपद् पूर्वतयारी, सूचना आदान-प्रदान, आपसी समन्वय र सहयोगलाई प्राथमिकता दिँदै सबै राजनीतिक दल, संघ, प्रदेश र स्थानीय सरकार, सुरक्षा निकायहरु, विभिन्न संघ संस्था, नागरिक समाज, स्वयंसेवक र आम नागरिक एकताबद्ध भएर विपद् जोखिम न्यूनीकरणमा योगदान गरौं, एकआपसमा सहकार्य गरौं ।
सजग र सतर्क बनौं ! आफू पनि सुरक्षित रहौं, अरुलाई पनि सुरक्षित राखौं !!
२०८३ असोज ८, काठमाडौं



