बाढी प्रभावित क्षेत्रमा प्रचण्ड, राहत र उद्धारमा लगातार जुट्न कार्यकर्तालाई निर्देशन
काठमाडौं, भदौ २८ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बाढी तथा पहिरोबाट प्रभावित धादिङ र नुवाकोटका विभिन्न क्षेत्रको स्थलगत अवलोकन गरेका छन्।
बाढी तथा पहिरोका कारण प्रभावित नागरिकको अवस्था बुझ्न तथा राहत र उद्धारका गतिविधिलाई प्रभावकारी बनाउन प्रचण्ड प्रभावित क्षेत्रमा पुगेका हुन्। अवलोकनका क्रममा उनले स्थानीयवासीसँग भेटघाट गर्दै बाढीपहिरोबाट भएको क्षति, तत्काल आवश्यक राहत तथा उद्धारका विषयमा जानकारी लिएका छन्।
प्रचण्डले विपद्को समयमा राजनीतिक गतिविधिभन्दा मानवीय सेवामा प्राथमिकता दिनुपर्ने भन्दै पार्टीका नेता तथा कार्यकर्तालाई राहत, उद्धार र पुनःस्थापनाका काममा सक्रिय रूपमा परिचालित हुन निर्देशन दिएका छन्।
उनले प्रभावित परिवारलाई तत्काल आवश्यक खाद्यान्न, लत्ताकपडा, स्वास्थ्य सामग्रीलगायत राहत उपलब्ध गराउन तथा जोखिममा रहेका नागरिकको उद्धारमा स्थानीय तह र सम्बन्धित निकायसँग समन्वय गर्न कार्यकर्तालाई आग्रह गरेका छन्।
स्थलगत अवलोकनमा पार्टीका नेता–कार्यकर्ता, सुरक्षाकर्मी तथा स्वयंसेवकहरू पनि सहभागी थिए। बाढी र पहिरोका कारण क्षतिग्रस्त सडक तथा भौतिक संरचनाको अवस्थासमेत प्रचण्डले निरीक्षण गरेका थिए।

फोटो : बाढी प्रभावित क्षेत्रको स्थलगत अवलोकनका क्रममा नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ तथा पार्टीका नेता–कार्यकर्ताहरू।



