हिमाली क्षेत्रमा बढ्दाे विपद् सामना गर्न मिलेर अघि बढ्नुपर्छ : राजदूत झाङ
नेपालका लागि चिनियाँ राजदूत झाङ माओमिङले हिमाली क्षेत्रमा बढ्दै गएको जलवायुजन्य जोखिम र प्राकृतिक विपद्को सामना गर्न नेपाल र चीनले मिलेर काम गर्नुपर्ने बताएका छन् ।
शनिबार काठमाडौंमा आयोजित काष्ठमण्डप संवादमा बोल्दै राजदूत झाङले नेपाल र चीन एउटै हिमाली पारिस्थितिक प्रणालीसँग जोडिएकाले हिमाली क्षेत्रमा हुने बाढी, पहिरो तथा अन्य प्राकृतिक विपद्को प्रभाव दुवै देशले सामना गर्नुपर्ने बताए । जलवायु परिवर्तनबाट उत्पन्न जोखिम कुनै देशको सीमाभित्र मात्र सीमित नरहने भन्दै उनले विपद् व्यवस्थापनमा क्षेत्रीय तथा सीमापार सहकार्य आवश्यक रहेकामा जोड दिए ।
चिनियाँ राष्ट्रपति सी चिनफिङको भनाइ उद्धृत गर्दै उनले कुनै पनि देश वातावरणीय जोखिमबाट पूर्ण रूपमा सुरक्षित रहन नसक्ने र जलवायु परिवर्तनको सामना कुनै मुलुकले एक्लैले गर्न नसक्ने बताए । राजदूत झाङले हिमाली विपद्को जोखिम न्यूनीकरणका लागि नेपाल र चीनबीच जल तथा मौसमसम्बन्धी निगरानी प्रणालीलाई थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिए ।
विपद्को पूर्वसूचना प्रणाली विकास, अत्याधुनिक प्रविधिको प्रयोग तथा संयुक्त आपत्कालीन उद्धार अभ्यासलाई प्राथमिकतामा राख्नुपर्ने उनको भनाइ छ । चीनले विपद्का बेला नेपाललाई गरेको सहयोगले दुई देशबीचको सहकार्यको महत्व देखाएको उनले बताए ।



