रसुवागढी नाकालाई फेरि सञ्चालनमा ल्याउने दुवै देशकाे तयारी

मूलखबर संवाददाता
काठमाडौं, २८ भदाै २०८३

भोटेकोशी बाढीपछि ध्वस्त बनेको चीनसँगको रसुवागढी नाकालाई फेरि सञ्चालनमा ल्याउने तयारी दुवै देशका सरकारले थालेका छन्। रसुवागढीदेखि स्याफ्रुबेँसीसम्म चीनकै सहयोगमा सडक निर्माण गरेर यो नाकालाई फेरि सञ्चालन गर्ने योजनामा दुवै देश सकारात्मक देखिएका छन् ।

कान्तिपुरसँगको विशेष अन्तर्वार्तामा पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले रसुवागढी नाकादेखि स्याफ्रुबेँसीसम्म सडक निर्माणका लागि सहयोग गर्न चीन सरकारसँग प्रस्ताव गरिसकिएको र सकारात्मक रहेको बताए ।

‘उहाँहरूले सहयोग गर्ने मौखिक प्रतिबद्धता जनाइसक्नुभएको छ, लिखित सम्झौता भइसकेको छैन,’ उनले भने, ‘तर, त्यसको तयारी उहाँहरूले गरिरहनुभएको छ भन्ने बुझेका छौँ, नियमित रूपमा संवादसमेत भइरहेको छ।’