साेलुखुम्बुमा पनि पहिराेले थुनियाे खाेला, तटिय क्षेत्रमा सतर्कता अपनाउन आग्रह
सोलुखुम्बुको महाकुलुङ गाउँपालिका–३ र ४ नम्बर वडास्थित हुङ्गा खोलामा पहिरो खसेर खोलामा ड्याम बनेपछि नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरिएको छ ।
शुक्रबार बिहान करिब ७ बजे गौरीशंकर हाइड्रोपावरको हेड अफिसबाट करिब एक सय मिटर तल, वडा नम्बर २ तर्फ करिब ३५ मिटर अग्लो पहिरो खसेको हो ।
पहिरो खसेपछि खोलामा करिब एक सय मिटर लामो र १५ मिटर अग्लो ड्याम बनेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी नायब उपरीक्षक नविन राज बुढाथोकीले जानकारी दिनुभयो ।
घटनाको जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय सोताङ र प्रहरी चौकीबाट प्रहरी टोली घटनास्थलतर्फ खटिएको थियो ।
प्रहरी टोलीले नदी तटीय क्षेत्रमा रहेका गाउँबस्ती तथा हुङ्गा खोलामा सञ्चालित गौरीशंकर हाइड्रोपावरको पावर हाउस, दूधकोशी–२ हाइड्रोपावर नेपाल तथा सहास ऊर्जा लिमिटेडका दुईवटा हाइड्रोपावरलाई घटनाबारे जानकारी गराएको छ । साथै, हाइड्रोपावरमा रहेका कामदार तथा सवारीसाधनलाई सुरक्षित स्थानतर्फ जान सूचित गरिएको प्रहरीले जनाएको छ ।



