उद्दार गरेको घाइते चितुवा फुत्कियो, आक्रमणबाट वनरक्षक घाइते

मूलखबर संवाददाता
लमजुङ, २५ भदौ

लमजुङमा उद्धार गरी डिभिजन वन कार्यालय परिसरमा ल्याइएको चितुवा पिँजडाबाट फुत्किएर आक्रमण गर्दा एक वनरक्षक घा इते भएका छन् । चितुवा फुत्किएपछि बेंसीसहर बजार क्षेत्रमा त्रास फैलिएको छ ।

चितुवाको आ क्रमणबाट डिभिजन वन कार्यालयमा कार्यरत ५७ वर्षीय वनरक्षक बुद्धिजङ गुरुङ घा इते भएका हुन् । उनको देब्रे हात र अनुहारमा चोट लागेको छ । प्रदेश अस्पताल बेंसीसहरमा उनको उपचार भइरहेको प्रहरीले जनाएको छ ।

बेंसीसहर नगरपालिका–११ चितीको तिलाहार–कार्कीडाँडा सडकअन्तर्गत धङ खोलामा बिहीबार दिउँसो अशक्त अवस्थामा चितुवा भेटिएको थियो । स्थानीयले चितुवा देखेपछि वडाध्यक्ष शिवप्रसाद जोशीलाई खबर गरेका थिए । त्यसपछि प्रहरी, स्थानीय र वन कर्मचारीको टोलीले चितुवाको उद्धार गरी अपराह्न डिभिजन वन कार्यालय बेंसीसहर पुर्‍याएको थियो ।

डिभिजनल वन अधिकृत शिव श्रेष्ठका अनुसार चितुवा बिरामीजस्तो अवस्थामा भेटिएको थियो । त्यसलाई कास्कीको पचभैयास्थित रेस्क्यु सेन्टर लैजाने तयारी थियो । कार्यालयमा ल्याइएको चितुवालाई अर्को पिँजडामा सार्ने क्रममा खोर भत्काएर फुत्किएको उनले बताए ।

खोर सार्ने क्रममा चितुवाले आक्रमण गर्दा वनरक्षक गुरुङ घाइते भएका हुन् । चितुवा नजिकै रहेका उनी आक्रमणपछि उद्धार गरी ल्याएको सवारीसाधनभित्रै एक घण्टाभन्दा बढी थुनिएका थिए ।