मनसुनी वायुको प्रभाव नेपालको पश्चिमतर्फ, लुम्बिनी र सुदूरपश्चिममा धेरै भारी वर्षाको सम्भावना
हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा केही उत्तरतर्फ (नेपालको पश्चिमतर्फ नेपाल नजिकै) रहेको छ। साथै उत्तर प्रदेश आसपास बनेको न्यून चापीय क्षेत्रको पनि प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी, कर्णाली प्रदेशको पहाडी तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाडी र तराई भू-भागको एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ | लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भू-भागको एक-दुई स्थानमा धेरै भारी वर्षाको समेत सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाले जनाए अनुसार आज कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू-भागका केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भू-भागका थोरै स्थानमा मेघगर्जन तथा चट्याङ्ग सहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू-भागका धेरै स्थानमा तथा मधेश प्रदेशका साथै कोशी, बागमती र गण्डकी प्रदेशका तराई भू-भागका केही स्थानमा मेघगर्जन तथा चट्याङ्ग सहित मध्यमसम्म वर्षाको सम्भावना छ।
बाढीपछि ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भू-क्षयका जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न तथा यस बाट ती क्षेत्रहरूमा दैनिक जनजीवन लगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायात, उद्दार तथा राहातमा असर पर्ने सम्भावना रहेकाले पछिल्लो सूचनामा अद्यावधिक हुन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।



