नेपालप्रति पाकिस्तानी ऐक्यबद्धता, राहत तथा पुनःस्थापनामा सहयोग गर्ने प्रतिबद्धता
पाकिस्तानका उपप्रधानमन्त्री तथा विदेशमन्त्री सिनेटर मोहम्मद इशाक दारले नेपालमा हालै आएको विनाशकारी बाढी तथा पहिरोबाट भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेका छन्।
दारले शनिबार इस्लामाबादस्थित नेपाली दूतावासको भ्रमण गरी बाढी तथा पहिरोमा परी ज्यान गुमाएका व्यक्तिहरूको सम्झनामा राखिएको शोक पुस्तिकामा हस्ताक्षर गरे। उनले विपद्मा ज्यान गुमाउनेका परिवारप्रति हार्दिक समवेदना व्यक्त गर्दै दुःखको यस घडीमा पाकिस्तान सरकार र जनता नेपालसँग ऐक्यबद्ध रहेको बताए।
उपप्रधानमन्त्री दारले जलवायु परिवर्तनले क्षेत्रका मुलुकहरूमा असमान रूपमा गम्भीर प्रभाव पारिरहेको उल्लेख गर्दै यसबाट जनजीवन, जीविकोपार्जन तथा भौतिक पूर्वाधारमा गम्भीर क्षति पुगिरहेको बताए।
उनले विपद्मा परी दिवंगत भएकाहरूको आत्माको चिरशान्तिको कामना गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभ तथा बेपत्ता व्यक्तिहरूको सकुशल उद्धारका लागि प्रार्थना गरे।
दारले नेपालमा जारी राहत तथा पुनःस्थापना प्रयासमा पाकिस्तानको निरन्तर समर्थन रहने प्रतिबद्धता व्यक्त गर्दै प्राकृतिक विपद्का कारण उत्पन्न परिस्थितिसँग जुध्न नेपाललाई आवश्यक पर्ने सबै सम्भव सहयोग उपलब्ध गराउन पाकिस्तान तयार रहेको बताए।



