गण्डकीमा पनि पहिचान हुन नसकेका शव जमिनमुनि व्यवस्थापन गरिने

मूलखबर संवाददाता
पाेखरा, १६ भदाै

रसुवाको भोटेकोशी नदीमा गत बुधबार गएको बाढीमा मृत्युवरण गरी हालसम्म पहिचान हुन नसकेका शव कानुनी प्रक्रियाअनुसार जमिनमुनि व्यवस्थापन गरिने भएको छ ।

नवलपुर, धादिङ, तनहुँ र गोरखाबाट पोखरा ल्याइएका एक सय दुई शवमध्ये सोमबारसम्म जम्मा १६ शव पहिचान गरी आफन्तलाई बुझाइएको कास्कीका प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङले बताउनुभयो ।

“शव पहिचान गरी आफन्तलाई बुझाउन नसकिएका बाँकी शवलाई जमिनमुनि व्यवस्थापन गर्छौं”, उहाँले भन्नुभयो, “डिएनए नमूना सङ्कलनसहित सम्पूर्ण कानुनी र वैज्ञानिक प्रक्रिया पूरा गरेर मात्र शव व्यवस्थापनको काम हुन्छ ।” डिएनएसँग मेल खाएमा पछि पुनः पहिचान गरी आफन्तलाई शव बुझाउन मिल्ने गरी व्यवस्थापन गरिने प्रजिअ गुरुङको भनाइ छ ।

पहिचान हुन नसकेका शवलाई पहिचान हुन नसकेका तथा बेवारिसे शव व्यवस्थापन निर्देशिकाअनुसार व्यवस्थापन गरिने उहाँले बताउनुभयो । शव व्यवस्थापनका लागि सम्भावित स्थलको खोजीलगायत अन्य व्यवस्थापकीय तथा प्राविधिक तयारी भइसकेको उहाँको भनाइ छ । अस्पतालमा राखिएका सबै शवको परीक्षण भइसकेको जनाइएको छ ।

शव पहिचानका लागि तस्बिर स्क्रिनमा राखेर आफन्तलाई हेर्ने व्यवस्था मिलाइएको छ । आफन्तहरु तस्बिर हेरेर शव पहिचान गर्ने प्रयासमा छन् । शवको खोजीमा आएका आफन्तहरुलाई खाना र बासको व्यवस्था मिलाइएको प्रजिअ गुरुङले बताउनुभयो । शव पहिचानका लागि अस्पताल परिसरमा सहायता कक्ष पनि राखिएको छ ।

बाढीले बगाएर शव विभिन्न जिल्लामा पु¥याएका कारण शव पहिचान नै जटिल बन्दै गएको छ । कतिपय शव क्षतविक्षत भएकाले चिन्नै नसिकिने अवस्थामा रहेको जनाइएको छ । नवलपुरबाट ४१, धादिङबाट २७, तनहुँबाट २३ र गोरखाबाट ११ शव पहिचान तथा परीक्षणका लागि पोखरा ल्याइएको थियो । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र मणिपाल शिक्षण अस्पतालमा शव राखिएको छ ।