मट्टितेल छर्केर आगो लगाई घाइते महिलाको उपचारका क्रममा मृत्यु
लमजुङको मर्स्याङ्दी गाउँपालिका–८ बान्द्रेमा पती/पत्निबीच घरायसी विवादका क्रममा आफ्नै शरीरमा मट्टितेल छर्केर आगो लगाउँदा गम्भीर घाइते भएकी २५ बर्सीय अन्जना घलेको उपचारका क्रममा मृत्यु भएको छ।
४२ वर्षीय पती गोपीमान घलेसँग विवाद भएपछि अन्जनाले भदौ ७ गते राति करिब ८ः३० बजे शरीरमा मट्टितेल छर्केर आगो लगाएकी थिइन्। आगो निभाउने क्रममा गोपीमानसमेत घाइते भएका थिए।
अन्जनाको शरीरको करिब ८० प्रतिशत भाग जलेको थियो भने गोपीमानको दुवै हात, खुट्टा र गालामा करिब १० प्रतिशत भाग जलेको प्रहरीले जनाएको छ। दुवैलाई प्रदेश अस्पताल बेँसीशहरमा उपचारका लागि लगिएको थियो।
थप उपचारका लागि अन्जनालाई भदौ ८ गते राति काठमाडौँस्थित किर्तिपुर बोन अस्पताल रिफर गरिएको थियो। उपचारकै क्रममा आज भदौ ९ गते बिहान ४ः३६ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेको आफन्तले प्रहरीलाई जानकारी दिएका छन्। गोपीमानको प्रदेश अस्पताल बेँसीशहरमा उपचार भइरहेको र अवस्था सुधारोन्मुख रहेको प्रहरीले जनाएको छ।



