पाँच वर्षमा २१ हजार ५ सय २ महिला बलात्कारबाट पीडित

मूलखबर संवाददाता
काठमाडौं, ९ भदौ

साना बालिकाको जबरजस्ती करणीपछि हत्या भएको बाराकाे घटना पहिलो पटक भने होइन । गत आर्थिक वर्षमा पनि यसै गरी बालिकासहित चार जनाको जबरजस्ती करणीपछि हत्या भएको थियो ।

नेपाल प्रहरीको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक निर्देशनालयको तथ्य अनुसार गत वर्ष १० वर्ष उमेरमुनिका एक बालिका, १० देखि १४ वर्ष उमेर समूहका दुई बालिका र १९ देखि २५ वर्ष उमेर समूहका एक युवतीको जबरजस्ती करणीपछि हत्या भएको थियो । अघिल्लो आव २०८१/८२ मा १० वर्ष उमेरमुनिका दुई जनासहित पाँच जनाको जबरजस्ती करणीपछि हत्या भएको थियो । जसमा ११ देखि १४ वर्ष उमेर समूहका दुई जना र त्यसमाथिका एक युवतीको करणीपछि हत्या भएको प्रहरीको तथ्य छ ।

साना बालिकामाथि जबरजस्ती करणीका घटनाको आँकडा बढ्दै गएको तथ्यले देखाउँछ । गत असारमै पाँच बालिकामाथि जबरजस्ती करणी भएको मुद्दा दर्ता भएको छ । जसमा दुई जना ११ वर्ष, दुई जना १३ वर्ष र एक जना १५ वर्षकी बालिका जबरजस्ती करणीमा परेका थिए । विगत पाँच वर्षको आँकडा केलाउँदा बालिका, युवती र प्रौढ महिलासहित २१ हजार ५०२ जनामाथि जबरजस्ती करणीलगायत लैङ्गिक हिंसाका घटना भएका छन् ।

जबरजस्ती करणीको ग्राफले साना बालिका पीडकको बढी निसानामा पर्न थालेको औँल्याउँछ । २०७७ देखि २०८१ सालसम्मको आँकडा हेर्दा हरेक वर्ष जसो साना बालबालिका पीडकको आक्रमणमा परेको देखिन्छ ।

जस अनुसार २०८१ सालमा ३७६ बालिका निसानामा परेका थिए । अघिल्लो वर्ष २०८० सालमा ३५१, २०७९ सालमा ३७५, २०७८ सालमा ४२२ र २०७७ सालमा ४६४ जना १० वर्षमुनिका बालिका जबरजस्ती करणीको सिकार बनेका थिए । त्यसभन्दा अघिका तीन वर्षको एकमुस्ट आँकडाले एक हजार २७० जना १० वर्षमुनिका बालिका जबरजस्ती करणीको सिकार बनेको औँल्याउँछ । उक्त तीन वर्षमा ११ जना १६ वर्षमुनिका बालिकाको करणीपछि हत्या भएको थियो ।