संसदमा मर्यादित भएर प्रस्तुत हुन रास्वपा सांसदहरूलाई सभापति लामिछानेको निर्देशन

मूलखबर संवाददाता
काठमाडौं, ४ भदौ

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूले संसदमा अमर्यादित व्यवहार प्रदर्शन गरेकाे भनेर सार्वजनिक आलोचना शुरू भएपछि  सभापति रवि लामिछानेले संसद्‌मा मर्यादित भएर प्रस्तुत हुन मन्त्रीहरू र पार्टीका सांसदहरूलाई निर्देशन दिएका छन् ।

पार्टी संसदीय दलको कार्यालय सिंहदरबारमा बुधबार बसेको संसदीय दलको बैठकमा सभापति लामिछानेले मन्त्री र सांसदहरूलाई संसद्‌मा मर्यादित भएर प्रस्तुत हुन भनेका हुन् ।

सभापति लामिछानेले मन्त्री र सांसदहरूलाई सरकारका कामकारबाही कसरी सम्पादन गर्ने र संसद्‌मा कसरी प्रस्तुत हुने भन्ने सम्बन्धमा सुझाव तथा निर्देशन दिएका थिए । सभापति लामिछानेले मन्त्री र सांसदहरूलाई निर्देशन दिएका थिए, ‘अमर्यादित गतिविधि गरेर रमिता नदेखाउनुस् । सांसद र मन्त्री दुवैले आफ्नो व्यवहार र गतिविधिमा संसदीय मर्यादा कायम गर्नुपर्छ ।’ जनताले सांसदहरूलाई प्रश्न गरिरहेको र सांसदले मन्त्रीलाई प्रश्न गरिरहेको यथार्थ आफूलाई जानकारीमा रहेको सभापति लामिछानेको भनाइ थियो । योग्यताक्रम र समावेशितालाई ख्यालमा राखेर अगाडि बढ्नुपर्ने पनि उनले बताएका थिए । उनले भने, ‘घमण्ड त्यागेर आपसी समन्वय र संवादमा काम गर्नुपर्छ । सांसद र मन्त्रीबीच सहकार्य र समन्वय भए मात्रै सरकार प्रभावकारी हुन्छ । एकअर्कासँग स्पष्ट रूपमा संवाद गर्नुस् ।’

प्रतिनिधिसभा बैठकमा बोल्ने विषयमा मुख्य सचेतक कबिन्द्र बुर्लाकोटी, सचेतकहरू प्रकाशचन्द्र परियार र क्रान्तिशिखा धिताललाई जानकारी दिन पनि सभापति लामिछानेले निर्देशन दिएका थिए ।

सांसद र मन्त्रीले आफ्ना गतिविधि पारदर्शी बनाउनुपर्ने बताउँदै उनले भनेका थिए, ‘संसद्‌मा बोल्ने विषय, भ्रमण, भेटघाटलगायत गतिविधिबारे पार्टीलाई जानकारी गराउनुपर्छ ।’