पाँच महिनापछि फर्किए देउवा, विमानस्थलमा भव्य स्वागत, कांग्रेसकाे भविष्य के हाेला ?
पाँच महिनापछि स्वदेश फर्किएका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्न संस्थापन इतरपक्षका नेता–कार्यकर्ताको उल्लेख्य भीड देखिनु कांग्रेसभित्रको बदलिँदो राजनीतिक समीकरणको संकेतका रूपमा हेरिएको छ। लामो समयपछि सार्वजनिक राजनीतिक गतिविधिमा फर्किएका देउवाको स्वागतमा देखिएको उत्साहले कांग्रेसभित्र उनको प्रभाव अझै कमजोर नभएको सन्देश दिएको छ।
देउवाको स्वागतमा देखिएको भीडलाई केवल औपचारिक स्वागतका रूपमा मात्र बुझ्नु पर्याप्त हुँदैन। पछिल्लो समय कांग्रेसभित्र नेतृत्व, संगठन र आगामी राजनीतिक दिशाबारे असन्तुष्टि र बहस बढिरहेका बेला विमानस्थलको दृश्यले संस्थापन इतरपक्ष पनि आफ्नै राजनीतिक रणनीति बनाउन सक्रिय रहेको देखाएको छ। देउवाको उपस्थितिले पार्टीभित्र निष्क्रिय वा विभाजित देखिएका समूहहरूलाई पुनः एक ठाउँमा ल्याउने सम्भावना पनि बढाएको छ।
तर, कांग्रेसका लागि मूल प्रश्न देउवा फर्किएपछि तत्काल कति भीड जम्मा भयो भन्ने होइन, अब पार्टीलाई कुन दिशामा लैजाने भन्ने हो। कांग्रेसभित्र पुस्तान्तरण, नेतृत्वको कार्यशैली, संगठन सुदृढीकरण र सरकार तथा प्रतिपक्षसँगको सम्बन्धजस्ता विषयमा स्पष्ट रणनीति आवश्यक छ। केवल गुटगत शक्ति प्रदर्शनले पार्टीको दीर्घकालीन समस्या समाधान गर्न सक्दैन।
देउवाको पुनरागमनले कांग्रेसभित्र नयाँ राजनीतिक ध्रुवीकरणको सम्भावना पनि देखाएको छ। संस्थापन र संस्थापन इतरबीचको दूरी घट्छ वा अझ बढ्छ भन्ने कुरा आगामी दिनमा देउवाले अपनाउने राजनीतिक शैली र पार्टीभित्रको संवादमा निर्भर हुनेछ।
यसर्थ, विमानस्थलमा देखिएको भीडलाई कांग्रेसको शक्ति पुनरागमनको प्रमाण मान्न हतार हुनेछ। बरु यसलाई कांग्रेसभित्र राजनीतिक सक्रियता पुनः बढ्दै गएको संकेतका रूपमा लिनु उपयुक्त हुन्छ। अब देउवा र कांग्रेस नेतृत्वले भीडलाई संगठनात्मक शक्तिमा र उत्साहलाई राजनीतिक विश्वासमा बदल्न सक्छन् कि सक्दैनन्—त्यसैले कांग्रेसको आगामी बाटो निर्धारण गर्नेछ।
स्वदेश फर्केपछि अपिल जारी
नेता देउवाले आजै एक अपिल जारी गर्दै आफूलाई हिमालका शिखर, पहाडका हरियाली हराभरा र तराईका विशाल मैदानहरूले पुनः आफ्नै घरतर्फ बोलाएको उल्लेख गर्नुभएको छ । उहाँले आफू नेता बनेर नभई राष्ट्रको आजीवन नागरिक बनेर फर्किएको र विनम्रता, समर्पण र प्रेमका साथ सेवा गर्न तत्पर रहेको उल्लेख गर्नुभएको छ । पूर्व प्रधानमन्त्री देउवाले कांग्रेस केवल लोकतान्त्रिक इतिहास बोकेको दल मात्र नभई दशकौंको राजनीतिक सङ्घर्ष सहेर आफ्नो अस्तित्व र मर्यादा जोगाइराख्न सफल पार्टी भएको बताउनुभयो ।
“मैले हाम्रो युवा पुस्ताको मौन पीडा र प्रखर आवाज दुवै सुनेको छु । म स्पष्ट रूपमा भन्न चाहन्छु–कांग्रेसले युवा पुस्ताले माग गरेको परिवर्तनलाई आत्मसात् गरेको छ,” उहाँले भन्नुभएको छ, “विश्व बदलिएको छ, र हामी पनि समयको गतिसँगै अघि बढ्नुपर्छ भन्ने सत्यलाई हामी स्वीकार गछौँ । त्यसैले भौतिक पीडा सहँदासहँदै पनि गत भदौमा भएको जेनजी आन्दोलनको जायज मागलाई मैले सम्बोधन वोधन गर्नुपर्ने धारणा त्यति बेला नै राखेको थिएँ ।” उहाँले आफूले राजनैतिक रूपमा लिनुपर्ने केही नभएको तर मेरो विगतको अनुभव मुलुक मुलुक र पार्टीले लिन सक्नु पर्ने र त्यो अनुभव नयाँ पुस्तालाई शेयर गर्नु आफ्नो दायित्व भएको पनि उल्लेख गर्नुभएको छ ।
पूर्व प्रधानमन्त्री देउवाले आफ्नो पार्टीका साथीहरू अहिले निराश भएको अवस्थामा रहेका र उनीहरूको मनोबल बढ्ने गरी पार्टीभित्रका साथीहरूको भावनालाई पुनः एक पटक जोड्नु पर्ने समय आएको बताउनुभएको छ । उहाँले २०३३ सालमा वीपी कोइराला भारत निर्वासनबाट नेपाल फर्कंदा सबै राष्ट्रवादी र प्रजातन्त्रवादी शक्तिहरू एक हुनु पर्ने समय आएको उद्घोष गर्नु भएको स्मरण गर्दै फेरि ४७ वर्षपछि राष्ट्रिय एकतालाई मजबुत गर्न सर्वपक्षीय राष्ट्रिय एकताको आवश्यकता देखिएको बताउनुभएको छ ।
“मैले सँधै भन्ने गरेको छु मैले जीवनमा राष्ट्र, लोकतन्त्र, नागरिक, संविधान र कानुनलाई सर्वोपरी मानी काम गरेको छु,” उहाँले अपिलमा भन्नुभएको छ, “कानुन र नीति विपरित परित कुनै काम गरेको छैन । मेरो जीवन खुला किताब हो । म प्रतिज्ञा गर्दछु अझ पनि जीवन रहँदासम्म राष्ट्र, राष्ट्रियता, लोकतन्त्र, मुलुक र जनताको सर्वोत्तमहीत, संविधान कानुन र नैतिकता मूल्य मान्यता अनुरूप काम गर्नेछु ।”



