काेलम्बिया भुकम्पमा मृत्यु हुने ७७ नाघे, खाेज तथा उद्वार जारी

मूलखबर संवाददाता
काठमाडौं, २६ साउन

काेलम्बियाकाे शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेकाे संख्या कम्तीमा ७७ नाघेको  अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले उल्लेख गरेको छ ।

भूकम्पको केन्द्रबिन्दु राजधानी बोगोटाबाट करिब २८० किलोमिटर पश्चिममा रहेको उत्तरपश्चिमी चोको क्षेत्रको सान होसे डेल पालमारमा थियो । भूकम्पको धक्का राजधानी बोगोटासम्मै महसुस गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । भूकम्पअघि सावधानीका लागि अलार्म बजाइएपछि मानिसहरू घर तथा भवनबाट बाहिर सडकमा निस्किएका भिडियोहरू सार्वजनिक भइरहेका छन् । भूकम्प इक्वेडर, पानामा र भेनेजुएलामा पनि महसुस गरिएको थियो ।

शुक्रबार मात्रै पदभार सम्हालेका कोलोम्बियाका राष्ट्रपति अबेलार्दो दे लासप्रिएजा आपत्कालीन उद्धार तथा राहत कार्यको नेतृत्व गर्न राजधानी बोगोटा पुगेका छन् । बीबीसीका अनुसार उनी अहिले उपराष्ट्रपति, मन्त्रीहरू तथा सम्बन्धित क्षेत्रका उच्च अधिकारीहरूसँगै विपद् जोखिम व्यवस्थापनसम्बन्धी राष्ट्रिय एकाइ (यूएनजीआरडी) को राष्ट्रिय संकट कक्षमा छन् । यसअघि लासप्रिएजाले सामाजिक सञ्जालमार्फत प्रभावित क्षेत्रको सुरक्षा र सहयोगका लागि ‘आवश्यक सबै काम’ गर्ने बताएका थिए ।