नेकपा ओखलढुंगाकाे एकता भेला सम्पन्न, ३५१ सदस्यीय जिल्ला कमिटी गठन
ओखलढुंगा । नेपाली कम्युनिष्ट पार्टी ओखलढुंगा जिल्ला समितिले संगठन विस्तार र पार्टी सुदृढीकरणलाई तीव्रता दिने निर्णय गरेको छ।
जिल्ला एकता भेला तथा बैठकले ६२ सदस्यीय प्रदेश कमिटी र ३५१ सदस्यीय जिल्ला कमिटी गठन गरेको हो। बैठकले आगामी भदौ १५ गतेभित्र वडा तहका भेला सम्पन्न गर्ने तथा भदौ १६ देखि २३ गतेसम्म पालिका तहको एकता भेला तथा बैठक सम्पन्न गर्ने कार्यतालिका तय गरेको छ।
बैठकले विभिन्न पालिकाका इन्चार्ज, सह–इन्चार्ज, संयोजक र सह–संयोजकको जिम्मेवारीसमेत तोकेको छ। साथै जनवर्गीय संगठन तथा विभागीय इन्चार्जहरू चयन गर्दै भदौ मसान्तभित्र जिल्लाभर पार्टी सदस्यता नवीकरण सम्पन्न गर्ने निर्णय गरेको छ।
प्रदेश इन्चार्ज राजेन्द्र राईको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा प्रदेश समिति सह–इन्चार्ज परशुराम बस्नेत, प्रदेश समिति संयोजक हर्कबहादुर नेवाङ (मिक्सो) लगायतको उपस्थिति थियो।
कार्यक्रममा जिल्ला इन्चार्ज अम्बिरबाबु गुरुङ, जिल्ला संयोजक रामकुमार कार्की (नविन), सह–संयोजक मेखबहादुर खड्का तथा पार्टी केन्द्रीय सदस्यहरू बाबुराम गौतम, निशान्त शर्मा, चम्पा कार्की, नेत्र भट्टराई, मोहनकुमार खड्का र जि.बि. खड्का लगायतका नेताहरू सहभागी थिए।
बैठकले वडा तहदेखि जिल्ला तहसम्मको संगठनलाई थप चलायमान बनाउँदै पार्टी सदस्यता विस्तार र नवीकरणलाई प्राथमिकताका साथ अघि बढाउने निर्णय गरेको छ।



