चन्द्रमामा ठाेक्कियाे स्पेस एक्स फाल्कन ९ रकेटकाे टुक्रा, पृथ्वीमा कुनै क्षति नहुने
वैज्ञानिकहरूकाे अनुमान अनुसार नै गत वर्षदेखि अन्तरिक्ष आसपास घुमिरहेको स्पेस एक्स फाल्कन ९ रकेटको क्षतिग्रस्त भाग चन्द्रमामा ठोक्किएको सम्भावना देखिएको छ। यो हिस्सा ४ टन तौलको छ ।
तिव्र गतिमा भएको यो ठक्करले पृथ्वीमा कुनै खतरा नहुने उनीहरुले बताएका छन् । तर, बिस्फोटले नयाँ लुनार क्रेटर बन्नसक्ने उनीहरुले बताए ।
यस रकेटलाई फ्लोरिडास्थित नासाको केनेडी स्पेस सेन्टरबाट जनवरी २०२५ मा उडाइएको थियो । तर अन्तरिक्षमा पुगेपछि यो रकेट क्षतिग्रस्त भयो ।
यसअघि वैज्ञानिकहरुले नेपाली समयअनुसार बुधबार ११ बजेर ४० मिनेट जादाँ यो रकेटको हिस्सा चन्द्रमामा ठोक्किनसक्ने अनुमान लगाएका थिए । बीबीसी डटकमले आफ्नो लाइभमा १२ः३७ मा रिपोर्टिङ गरेको छ, ‘यस अवशेष अहिले चन्द्रमामा ठोक्किसकेको अनुमान वैज्ञानिकहरुले गरेका छन् । यस घटनालाई नियालिरहेका टेलिस्कोपहरुले ठक्करको पुष्टि गर्नेछन् ।’ झन्डै ८ हजार ६ सय ९० किलोमिटर प्रतिघण्टाको तिव्र स्पिडमा यो अवशेषले चन्द्रमालाई ठक्कर दिने पूर्वानुमान वैज्ञानिकहरुले लगाएका थिए ।
यो ठक्करपछि उत्पन्न हुने धुलोले केही माइल लामो बादलको घेरा बनाउने पनि अनुमान गरिएको छ । तर सूर्यको प्रकाशका कारण यसलाई पृथ्वीबाट नांगो आँखाले हेर्न कठिन हुनेछ ।
उच्च गुणस्तरको टेलिस्कोप र क्यामेरा प्रयोग गरिरहेका व्यवसाहिक एस्ट्रोनोमर्सहरुले पनि तत्काल यस ठक्करबारे पुष्टि गर्न सकेका छैनन् ।



