सरकारले सुकुम्बासी समस्याको वास्तविक समाधान खाेजेकै थिएन : आङ्देम्बे
नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सुकुमवासीको मुद्दामा सरकारले वास्तविक समाधान नखाेजेकाे बताएका छन् । उनलेे सरकारले समाधान नभई स्टन्ट मात्र खोजेको आरोप लगाएका छन्।
मंगलबार प्रतिनिधिसभामा भूमिहीन, सुकुमवासी तथा अव्यवस्थित बसोबासीको व्यवस्थापनसम्बन्धी सार्वजनिक महत्त्वको प्रस्तावमाथिको छलफलमा आङ्देम्बेले यस्तो टिप्पणी गरेका हुन्।
भूमिहीनलाई जग्गा, आवास र लालपुर्जा दिने विषय निर्वाचनअघि सबैजसो दलको साझा प्रतिबद्धता रहेको स्मरण गराउँदै उनले सबै दलले सुकुमवासीको व्यवस्थापन चाहेको प्रस्ट्याए।
अघिल्लो सदनमा ‘भूमिसम्बन्धी ऐन संशोधन’ आउँदा कांग्रेसको तर्फबाट गगन थापा र विश्वप्रकाश शर्मालगायतले समाधानका उपायसहित संशोधन दर्ता गराएको उल्लेख गर्दै आङ्देम्बेले भने, ‘स्थानीय तहले जग्गा र परिवार पहिचान गरी लालपुर्जा वितरणका लागि तयारी अवस्थामा रहेको वेला कानुन बन्न सकेन। त्यतिवेला प्रतिनिधिसभाबाट पारित भएको उक्त संशोधन राष्ट्रिय सभामा पुग्दा संसद् विघटनको सिकार भयो। परिस्थित बदलियो।’
भूमि आयोग खारेज भनेर त्यही प्रकृतिको राजनीतिक नियुक्तितिर सरकार लागेको आरोप लगाउँदै उनले थपे, ‘वर्तमान सरकारले साँच्चै सुकुमवासीको समस्याको दीर्घकालीन समाधान गर्न खोजेको थियो भने व्यापक छलफलपश्चात् संसद्को समितिबाट पारित कानुन संसदमा पेस गरी द्रुत गतिमा यही सदनबाट पारित गरेर कार्यान्वयन किन गरेन ?’



