हिमालमा भएका ठूला विपदका घटनाहरू : जहाँ धेरै नेपालीको ज्यान गयाे

मूलखबर संवाददाता
काठमाडौं, १९ साउन

हालै पाकिस्तानकाे ब्रोड पीक हिमालमा कीर्तिमानधारी निम्स दाईलगायत नेपालीहरूसहित १० आरोहीको मृत्यु भएको घटनालाई सगरमाथामा सन् २०१४ र सन् २०१५ मा लगातार भएका दुई भिन्न घातक दुर्घटनापछि नेपाली पर्वतारोहण समुदायले सामना गरेको सबैभन्दा ठूलो विपद्का रूपमा हेरिएको छ।

नेपाल पर्वतारोहण सङ्घ (एनएमए) का पूर्वअध्यक्ष आङछिरिङ शेर्पाका अनुसार पाकिस्तानको हिमपहिरो “व्यावसायिक आरोहणको समयमा नेपाली आरोही समुदायले देशबाहिर देखेको सबैभन्दा ठूलो एकल घटना” हो। “यो समग्रमै पनि सन् २०१४-१५ पछिको सबैभन्दा खराब घटना हो,” उनले भने।

सन् १९५० को दशकबाट नेपालमा अग्ला हिमाल आरोहण हुन थालेको इतिहास छ। सन् १९५३ मा सगरमाथाको पहिलो सफल आरोहण भएपछि खुम्बु क्षेत्रमा पर्वतारोहणका गतिविधि ह्वात्तै बढेको थियो। तर त्यसअघि समेत नेपाली आरोहीहरूले अन्य देशमा भएका हिमाल आरोहणका हिस्सा हुने क्रममा ठूलाठूला विपत्तिमा परेर ज्यान गुमाएका थिए।

घटनाको १२ वर्षअघि फर्केर हेर्दा सन् २०१४ मा सगरमाथा आधार शिविरभन्दा थोरै माथिपट्टि खुम्बु आइसफलमा हिमपहिरो जाँदा १६ जना आरोहीहरूको मृत्यु भएको थियो।

त्यसको अर्को वर्ष सन् २०१५ मा फेरि भूकम्पसँगै अर्को हिमपहिरोले सामान्यतः सुरक्षित बानिने आधार शिविर केही मिनेटमै भताभुङ्ग पार्‍यो।

त्यस विपद्‍मा करिब २२ जनाको मृत्यु भएकामा आधाजसो नेपाली आरोहीहरू थिए।

यसै दशकका ठूला घटनाका हकमा सन् २०२३ को सुरुमा खुम्बु आइसफलमा बेपत्ता भएका तीन शेर्पाहरूलाई पछि अधिकारीहरूले मृत घोषणा गरेका थिए।

त्यसैवर्षको शरद याममा चीनको तिब्बतबाट आरोहणको क्रममा शिशापाङ्मा हिमालमा आएको हिम पहिरोमा परेर दुई नेपाली शेर्पा र उनीहरूका दुई अमेरिकी सहयात्रीहरूको मृत्यु भयो।

ब्रोड पीकमा मृत्यु भएका निम्सले बनाएको सबैभन्दा छिटो (१८९ दिनमा) विश्वका १४ अग्ला हिमाल आरोहणको रेकर्ड आधाले (९२ दिनमा) तोड्ने एकजना तेन्जेन लामा शेर्पा पनि तिनैमध्ये थिए।

सन् १९७० मा जापानी स्किइङ आरोहण अभियान अन्तर्गतको एउटा शेर्पा टोली सगरमाथाको खुम्बु आइसफलमा हिम पहिरोमा पर्दा छ जना नेपाली शेर्पाले आफ्नो ज्यान गुमाएका थिए।

त्यसको दुई वर्षपछि नै सन् १९७२ मा मनास्लु हिमालमा गएको हिमपहिरोमा दक्षिण कोरियाली आरोहण दलका १५ जनाले ज्यान गुमाएका थिए। जसमध्ये १० जना नेपाली आरोहीहरू थिए। मनास्लुको क्याम्प थ्रीमा सुतिरहेका बेला मध्यरातमा सो हिमपहिरो गएको थियो।

त्यसपछि सन् १९९६ मा सगरमाथामै आएको हिमआँधीलाई पनि ठूलो विपद्‍का रूपमा हेरिन्छ। जोन कार्करको ‘इन्टू थीन एअर’ पुस्तककमा वर्णन गरिएको हिमआँधी आएको रातको घटनामा मात्र आठजनाले ज्यान गुमाएका थिए। मृत्यु हुने ती सबै विदेशी नागरिक थिए। – बीबीसीबाट