एकैदिन माेरक्काेबाट ४९ हजार आप्रवासी स्पेन प्रवेश गरे, भागदाैडमा कम्तीमा ५७ जनाकाे मृत्यु

मूलखबर संवाददाता
काठमाडौं

मोरक्कोबाट उत्तर अफ्रिकास्थित स्पेनी भूभाग (इन्क्लेव) स्युटा प्रवेश गर्ने क्रममा सीमा क्षेत्रमा ठूलो भागदौड र दुर्घटना हुँदा कम्तीमा ५७ जना आप्रवासीको मृत्यु भएको छ। माेरक्काेबाट स्पेनकाे सिमा क्षाेत्रमा गत २४ घण्टामा ४९ हजार प्रवेश गरेका अधिकारीहरूले जनाएका छन् ।

एकै हप्तामा अनुमानित ६० हजारभन्दा बढी आप्रवासीले जल र थल मार्ग हुँदै स्युटा प्रवेश गर्ने प्रयास गरेका थिए। यद्यपि, शुक्रबार साँझसम्ममा धेरैजसो आप्रवासीहरू पुनः मोरक्कोतर्फ नै फर्किएको स्पेनी अधिकारीहरूले जनाएका छन्।

स्थानीय अधिकारीहरूका अनुसार बिहीबार सीमा सुरक्षाकर्मीहरूलाई घेर्दै हजारौँको सङ्ख्यामा मानिसहरू एकैपटक अघि बढेका थिए। सो क्रममा समुद्र तैरिएर र जमिनबाट सीमापार गर्न खोज्दा धेरैको डुबेर मृत्यु भएको हो।

८४ हजार मात्र जनसङ्ख्या रहेको स्युटामा एकाएक हजारौँ आप्रवासी ओइरिएपछि स्थिति तनावग्रस्त बनेको थियो। जसका कारण स्पेन सरकारले स्थिति नियन्त्रणमा लिन सीमामा सेना परिचालन गरेको छ।

स्पेनको आन्तरिक मन्त्रालयका अनुसार गैरकानुनी रूपमा भित्रिएकाहरूलाई द्रुत प्रक्रियाबाट फिर्ता पठाउने प्रयास गरिरहेको छ । यद्यपि, स्पेनको सर्वोच्च अदालतले हालै समुद्री मार्गबाट आउने आप्रवासीलाई तत्काल मोरक्को फिर्ता पठाउन नमिल्ने फैसला गरे छ।

सीमापार गर्न खोज्नेहरूमा अधिकांश युवा र किशोरहरू रहेका छन्। स्पेनका प्रधानमन्त्री पेड्रो साञ्चेजले यो घुसपैठलाई ‘स्पेनको क्षेत्रीय अखण्डताको उल्लङ्घन’ भन्दै मानव तस्करहरूले फैलाएको अफवाहका कारण यो स्थिति सिर्जना भएको बताएका छन् ।

साथै यस घटनाले युरोपेली महाद्वीपभर सुरक्षा र आप्रवासनबारे नयाँ बहस छेडिदिएको छ। यसै घटनालाई लिएर इटालीले स्पेनबाट हुने हवाई तथा समुद्री उडानरआगमनमा आगामी ३० दिनका लागि अस्थायी सीमा नियन्त्रण र जाँच गर्ने घोषणा गरेको छ।

यस्तै फ्रान्सेली गृह मन्त्रालयले स्पेनसँग जोडिएका आफ्ना सीमा क्षेत्रमा थप सुरक्षा जाँच र निगरानी बढाउन आदेश दिएको छ। युरोपेली सङ्घ ईयू आयोगकी अध्यक्ष उर्सुला भोन देर लेयेनले नियम पालना नगरी युरोपेली सङ्घमा प्रवेश गर्न नदिइने स्पष्ट पारेका छन् ।