घाइते भेट्न पुगेका गृहमन्त्री गुरुङविरुद्ध नाराबाजी, मागे राजिनामा
सुनसरीको देवानगन्ज गाउँपालिका–३ कप्तानगन्ज गोलीकाण्डका घाइतेको स्वास्थ्य अवस्था बुझ्न पुगेका गृहमन्त्री सुधन गुरुङ र स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताविरुद्ध अस्पताल परिसरमै नाराबाजी भएकाे छ । घाइतेहरूको उपचार भइरहेको न्युरो अस्पतालमा मन्त्रीद्वय प्रवेश गरेलगत्तै अस्पताल बाहिर भेला भएका दर्जनौं प्रदर्शनकारीले सरकारविरुद्ध नाराबाजी गर्दै मृतकलाई सहिद घोषणा, पीडित परिवारलाई उचित क्षतिपूर्ति, घटनाका दोषीमाथि कारबाही गर्नुपर्ने माग अघि सारेका थिए ।
प्रदर्शनकारीले प्रधानमन्त्री वालेन्द्र शाह र गृहमन्त्री गुरुङको राजीनामासमेत माग गरेका थिए। केही समय अस्पताल परिसर तनावग्रस्त बनेपछि नेपाल प्रहरी र सशस्त्र प्रहरीको ठूलो सुरक्षा घेरा परिचालन गरिएको थियो। प्रदर्शनका क्रममा मोरङ प्रहरी प्रमुख एसपी कवित कटवाल र प्रदर्शनकारीबीच केहीबेर भनाभनसमेत भयो। एसपी कटवालले घटनाको निष्पक्ष छानबिन भइरहेको बताउँदै हतारमा निष्कर्षमा नपुग्न आग्रह गरेका थिए ।
साँझ बुद्ध एयरको उडानबाट विराटनगर पुगेका गृहमन्त्री गुरुङले विमानस्थलमै करिब एक घण्टा कोशी प्रदेशका सुरक्षा अधिकारीसँग देवानगन्जसहित जिल्लाको समग्र सुरक्षा अवस्थाबारे ब्रिफिङ लिएका थिए। सुरक्षा अधिकारीहरूले अवस्था नियन्त्रणउन्मुख भए पनि पूर्ण रूपमा सामान्य भइनसकेको जानकारी गराएका थिए ।
विमानस्थलमा सञ्चारकर्मीहरूले प्रतिक्रिया लिन खोजे पनि गृहमन्त्रीले कुनै प्रतिक्रिया दिएनन्। सुरक्षा ब्रिफिङपछि गृहमन्त्रीको टोली विराट नर्सिङ होम पुगेर उपचाररत चार जना घाइतेको स्वास्थ्य अवस्थाबारे जानकारी लिएको थियो। त्यहाँ उनले उपचारमा कुनै कमी नगर्न, दोषीमाथि कानुनी कारबाही हुने र घटनाको छानबिन जारी रहेकाले धैर्य गर्न आग्रह गरेका थिए।
त्यसपछि टोली न्युरो अस्पताल पुगेर उपचाररत थप तीन जना घाइतेसँग भेटघाट गरेको थियो। अस्पतालबाहिर भने प्रदर्शन र नाराबाजी जारी रह्यो ।



