कम्युनिस्ट आन्दोलनलाई पुनः एकताबद्ध बनाउनु पर्नेमा प्रचण्डकाे जाेड

मूलखबर संवाददाता
काठमाडौं, ९ साउन

नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कम्युनिस्ट आन्दोलनलाई पुनः एकताबद्ध बनाउनुपर्ने बताएका छन् ।

नेपाल कम्युनिस्ट पार्टीका संस्थापक नेता नरबहादुर कर्मचार्यको १३ औं स्मृति दिवसका अवसरमा शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा प्रचण्डले नेपाली कम्युनिस्ट आन्दोलनले धक्का खाएको वर्तमान अवस्थामा पुष्पलाल र नरबहादुर जस्ता नेताहरूको योजदानको स्मरण गर्दै कम्युनिस्ट आन्दोलनलाई पुनः एकताबद्ध र जीवित बनाउनु पर्नेमा जोड दिएका हुन् ।

उनले राष्ट्रिय स्वाधीनतामाथि आएको संकटको समाधान गर्न, निरंकुश प्रवृत्तिविरुद्ध संघर्ष गर्न र दृढ संकल्पका साथ अघि बढ्न समर्पित हुनुपर्ने बताएका छन् । प्रचण्डले पुष्पलालका सहयोद्धाको रूपमा नरबहादुर कर्माचार्यले मजदुर आन्दोलन, वर्ग संघर्ष र क्रान्तिमा अहम् भूमिका खेलेको बताएका छन् । उनले केही वर्ष मात्र सक्रिय हुनु वा त्याग गर्नु ठूलो कुरा नभएको भन्दै जीवनभर विचार, निष्ठा र उद्देश्यप्रति निरन्तर लागिरहनु गाह्रो कुरा भए पनि नरबहादुर आजीवन क्रान्तिकारी कित्तामै दृढ रहेको उनले बताए।