जलवायुजन्य हानि–क्षति रिपोर्टिङबारे पत्रकारलाई डिजेएन नेपालको तालिम

मूलखबर संवाददाता
काठमाडौं, साउन

काठमाडौं — जलवायु परिवर्तन तथा विपद्का कारण समुदायमा बढ्दै गएको आर्थिक (Economic Loss and Damage) र गैरआर्थिक (Non-Economic Loss and Damage) हानि तथा क्षतिबारे पत्रकारहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले आयोजित एकदिने पत्रकार अभिमुखीकरण तालिम शुक्रबार काठमाडौंमा सम्पन्न भएको छ।
विपद् पत्रकारिता सञ्जाल (DJN) नेपालको आयोजना तथा प्राक्टिकल एक्सन नेपाल र आईआईईडी (IIED) को सहकार्यमा आयोजित कार्यक्रममा जलवायु परिवर्तनले पूर्वाधार, कृषि र जीविकोपार्जनमा मात्र नभई संस्कृति, मानसिक स्वास्थ्य, सामाजिक सम्बन्ध र समुदायको पहिचानमा समेत दीर्घकालीन असर पार्ने विषयमा छलफल गरिएको थियो।

यस्तै उक्त कार्यक्रमका प्रशिक्षक एफएओका हानि तथा क्षति विज्ञ उज्ज्वल उपाध्यायले नेपालजस्तो जलवायु जोखिमयुक्त मुलुकमा आर्थिक र गैरआर्थिक दुवै प्रकारका हानि तथा क्षतिको अभिलेखीकरण र प्रभावकारी सञ्चार आवश्यकता रहेकोमा जोड दिनुभएको थियो।

यस्तै कार्यक्रममा अर्थ जर्नालिज्म नेटवर्कका दक्षिण एसिया संयोजक रमेश भुषालले जलवायु परिवर्तनसम्बन्धी समाचारलाई घटना केन्द्रित मात्र नराखी त्यसका दीर्घकालीन सामाजिक, आर्थिक तथा मानवीय प्रभावलाई प्राथमिकताका साथ समेट्नुपर्नेमा जोड दिँदै तथ्याङ्कसँगै समाधानमुखी पत्रकारितालाई प्रवर्द्धन गर्न र एआईलगायत आधुनिक प्रविधिको उपयोग गर्न सुझाव दिनुभयो।

कार्यक्रममा डीजेएनकी अध्यक्ष अमिका राजथलाले जलवायुजन्य हानि तथा क्षतिका विषयलाई तथ्यमा आधारित, संवेदनशील र समुदायको आवाजलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्नुपर्ने उल्लेख गर्नु भएको थियो।