आज पुष्पलाल स्मृति दिवस, विविध कार्यक्रम गरी मनाईँदै
आज साउन ७ गते । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का संस्थापक महासचिव पुष्पलालको ४८औँ स्मृति दिवस आज विविध कार्यक्रम गरी मनाइँदै छ ।
विसं १९८१ असार १५ गते रामेछापमा पिता भक्तलाल र आमा तुलसीकुमारीका माहिला छोराका रूपमा जन्मिनुभएका पुष्पलालले प्रवासमा बसेर नेकपाका गतिविधि अगाडि बढाएका थिए । उनी सहिद गङ्गालालको भाइ हुन् ।
पुष्पलालले कार्लमाक्स र फेडरिक एङगेल्सद्वारा लिखित ‘कम्युनिस्ट मेनिफेस्टो’ को पहिलो पटक नेपाली भाषामा अनुवाद गर्नुका साथै विभिन्न कृति र लेखमार्फत नेपाली समाजको वर्ग विश्लेषण गरेका थिए ।
विसं २००६ वैशाखमा निरञ्जनगोविन्द वैद्य, नारायणविलास जोशी, नरबहादुर कर्माचार्य र मोतीदेवी शाक्यसँग मिलेर उनले भारतको कोलकातामा नेकपा स्थापना गरेका थिए ।
उनको विसं २०३५ साउन ७ गते भारतको नयाँ दिल्लीमा उपचारका क्रममा निधन भएको थियो ।
नेकपा (एमाले), नेपाली कम्युनिस्ट पार्टीलगायतका कम्युनिस्ट पार्टीले विविध कार्यक्रम गरी दिवस मनाउन लागेका छन् ।
स्मृति दिवसका अवसरमा आज नेपाली कम्युनिस्ट पार्टीले किर्तिपुरमा रहेकाे पुष्पलाल बाटिकामा विहान कार्यक्रम आयाेजना गरेको छ भने नेकपा (एमाले) राजधानी प्रदेश कमिटीले एक कार्यक्रमको आयोजना गरेको छ । यस्तै, नेपाली कम्युनिस्ट पार्टीलगायतले पनि स्मृति दिवसको अवसरमा विविध कार्यक्रमको आयोजना गरेको जनाएका छन् ।



