आजबाट नयाँ बजेट लागू, महंगियाे स्वास्थ्य, शिक्षा र बीजुली

मूलखबर संवाददाता
काठमाडौं, १ साउन

आजबाट नयाँ आर्थिक वर्ष शुरू भएको छ । आर्थिक वर्ष शुरूवातसँगै नयाँ बजेट कार्वान्वयन पनि शुरू भएको छ । साथै आजबाट नयाँ कर नीति पनि लागू भएको छ जसले गर्दा शिक्षा र स्वास्थ्य तथा विजुलीमा समेत अतिरिक्त कर लाग्ने भएको छ ।

नयाँ व्यवस्थाअनुसार व्यक्तिगत आयकरमा राहत दिइएको छ भने चुरोट, सुर्तीजन्य पदार्थ, मदिरा तथा केही विलासिताका वस्तुमा कर बढाइएको छ । उद्योगलाई प्रतिस्पर्धी बनाउन थुप्रै कच्चा पदार्थमा भन्सार घटाइएको छ भने ३६० प्रकारका वस्तुबाट अन्तःशुल्क हटाइएको छ ।

सरकारले राजस्व वृद्धि र स्वास्थ्यसम्बन्धी नीतिलाई लक्षित गर्दै चुरोट, सुर्ती, खैनी, गुट्खा, चपाउने सुर्ती, बियर, वाइन, विदेशी तथा स्वदेशी मदिरा र चिनी बढी भएका कार्बोनेटेड तथा एनर्जी ड्रिंक्समा अन्तःशुल्क बढाएको छ । यसले यी वस्तुको बजार मूल्य बढ्ने छ ।

विलासिताका उच्च क्षमताका सवारीसाधन, केही बहुमूल्य धातु तथा गहनामा पनि भन्सार तथा सम्बन्धित कर समायोजन गरिएको छ । यद्यपि उत्पादनमूलक उद्योगलाई प्रोत्साहन दिन २७३ प्रकारका कच्चा पदार्थमा भन्सार दर घटाइएको छ । कम राजस्व संकलन हुने तथा औद्योगिक प्रयोजनका ३६० प्रकारका वस्तुबाट अन्तःशुल्क हटाइएको छ ।

शिक्षा र स्वास्थ्य पनि महँगियो
सरकारले १ साउनबाट लागू हुनेगरी शिक्षा र स्वास्थ्य उपचारमा थप तीन प्रतिशत कर लगाएको छ ।

नयाँ व्यवस्थाअनुसार ‘समता शुल्क’का नाममा नयाँ कर थपिएकाले निजी क्षेत्रबाट सञ्चालित शैक्षिक संस्थामा अध्ययन गर्दा विद्यार्थी तथा अभिभावकको खर्च बढ्ने भएको छ ।

कुनै पनि नेपालीले निजी क्षेत्रबाट सञ्चालित विश्वविद्यालय, महाविद्यालय, विद्यालय तथा प्राविधिक शिक्षालयबाट शिक्षा लिँदा १ साउनपछिको बिलमा सेवा शुल्कको ३ प्रतिशत ‘शिक्षा समता शुल्क’ जोडिनेछ ।

सरकारी अस्पतालबाहेकमा ‘स्वास्थ्य समता शुल्क’का नाममा थपिएको कर पनि १ साउनबाटै लागू भएको छ । यो करले सर्वसाधारणको औषधोपचार खर्च बढ्नेछ ।

निजी क्षेत्रबाट सञ्चालित स्वास्थ्य संस्थाहरू (अस्पताल, क्लिनिक) बाट सेवा लिँदा बिरामीले अब बिलमा सेवा शुल्कको ३ प्रतिशत ‘स्वास्थ्य समता शुल्क’ थप तिर्नुपर्नेछ । यो नयाँ कर असुल गर्नका लागि निजी क्षेत्रका सबै स्वास्थ्य संस्थाले बिलिङ प्रणाली परिमार्जन गर्नुपर्ने भएको छ ।

५० युनिटभन्दा बढी बिजुलीमा भ्याट
बिजुलीमा लगाएको मूल्य अभिवृद्धि कर (भ्याट) पनि १ साउन (आज) बाटै लागू भएको छ ।

१ साउनदेखि ५० युनिटभन्दा बढी बिजुली खपत गर्ने घरायसी ग्राहकलाई ५ प्रतिशत र अन्यलाई १३ प्रतिशत भ्याट थपेर बिलिङ हुने नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।