बेल्जियमलाई हराउँदै स्पेन १६ वर्षपछि विश्वकपकाे सेमिफाइनलमा प्रवेश
बेल्जियमलाई पराजित गर्दै स्पेन फिफा विश्वकप–२०२६ को सेमिफाइनलमा प्रवेश गरेको छ ।
मिकेल मेरिनोले दोस्रो हाफको अन्त्यतिर गरेको गोल मद्दतले स्पेनले विश्वकप २०२६ मा शनिबार बेल्जियमलाई २–१ ले पराजित गर्दै प्रतियोगिताको सेमिफाइनल प्रवेश गरेको हाे । अब अन्तिम चारको खेलमा स्पेनले फ्रान्सको सामना गर्नेछ ।
अमेरिकाको लस एन्जलस स्टेडियममा आज भएको क्वार्टरफाइनल खेलमा बेल्जियमलाई पराजित गर्दै स्पेन १६ वर्षपछि सेमिफाइनलमा प्रवेश गरेको हो ।
स्पेनको जितमा फेबियन रुइज र मिकेल मेरिनोले एक एक गोल सामेल थियो । खेलको ३०औँ मिनेटमा फेबियन रुइजले गोल गर्दै स्पेनलाई १–० गोलको अग्रता दिलाए । खेलको ४१औँ मिनेटमा बेल्जियमका खेलाडी चाल्र्स डे केटलेरले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा पुर्याए ।
त्यसपछि खेलको ८८औँ मिनेटमा स्पेनका मिकेल मेरिनोले गोल गर्दै आफ्नो टोलीलाई सेमिफाइनलमा पुर्याएका हुन् ।




